८१ प्रतिशत हिन्दु रहेको देशमा धर्मनिरपेक्षता घुसाउने गिरोह को हो? : राजीव खत्री

डिसी नेपाल
४ असोज २०८३ ९:४३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वपत्रकार राजीव खत्रीले नेपालको संविधान जारी गर्दाका बखत शीर्ष नेतृत्वको असन्तुष्टि र संविधान निर्माणको प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले देशका प्रथम राष्ट्रपति र तत्कालीन प्रधानमन्त्रीकै असन्तुष्टि एवं असहमतिबीच संविधान जारी गरिएको दाबी गरेका छन्।

भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खत्रीले प्रथम राष्ट्रपति डा. रामवरण यादवको भनाइ स्मरण गराएका छन्। पूर्वराष्ट्रपति यादवले “खुसी भएर संविधान जारी गरेको थिइनँ, संवैधानिक बाध्यताले हस्ताक्षर गरेँ” भनी व्यक्त गरेको अभिव्यक्तिलाई उल्लेख गर्दै उनले शीर्ष तहकै अनिच्छा उजागर भएको बताएका छन्।

यस्तै, तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको “संविधानमा धर्मनिरपेक्षता भएको मलाई पत्तै भएन” भन्ने भनाइलाई समेत उद्धृत गर्दै खत्रीले तत्कालीन नेतृत्वको भूमिकामाथि शंका व्यक्त गरेका छन्।

सांसद खत्रीका अनुसार संविधानसभा स्वयंले तय गरेको प्रक्रियालाई मिचेर जनताबाट संकलन गरिएका करिब दुई लाख लिखित राय-सुझावका पोकाहरूसमेत नखोली थन्क्याइएको थियो।

झन्डै ८१ प्रतिशत हिन्दु धर्मावलम्बी रहेको मुलुकको मूल कानुनमा अप्रत्यक्ष तथा चोरबाटोबाट धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र घुसाइएको टिप्पणी गर्दै उनले यसको चित्तबुझ्दो र नैतिक जवाफ कसैसँग नभएको तर्क गरेका छन्।

‘८१ प्रतिशत हिन्दु देशको संविधानमा धर्मनिरपेक्षता घुसाउने गिरोहमा को-को थिए? अब कसले यसको जवाफ दिन्छ? चोरबाटोबाट ल्याइएका यी विषयमाथि प्रश्न उठ्दा स्पष्टीकरण दिने नैतिक धरातल कसले राख्ला?’ भन्दै खत्रीले प्रश्न गरेका छन्।

लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय रहेर राजनीतिमा प्रवेश गरेका सांसद खत्रीले संविधान र राज्य सञ्चालनका आधारभूत सिद्धान्तहरूमाथि नीतिगत पुनरावलोकन हुनुपर्नेमा जोड दिँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *