डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्से कारोबार रोकिएको घटनामा अध्ययन गर्न बोर्डको निर्देशन

डिसी नेपाल
६ असोज २०८३ ८:१९

काठमाडौं। डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमित धितोपत्र कारोबार स्थगित भएको घटनाप्रति नेपाल धितोपत्र बोर्डले गम्भीर ध्यानाकर्षण जनाएको छ।

बोर्डले घटनाको विस्तृत अध्ययन तथा जाँचबुझ गरी आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ।

धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमति प्राप्त ९२ कम्पनीमध्ये ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर रहेको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या तत्काल समाधान हुन नसकेपछि कारोबार प्रणालीमा समेत असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेप्सेले असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो।

कारोबार नै स्थगित गर्नुपर्ने अवस्था उत्पन्न भएको विषयलाई गम्भीर रूपमा लिँदै बोर्डले घटनाको कारण, प्रभाव र प्राविधिक अवस्थाबारे अध्ययन गर्न निर्देशन दिएको हो।

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार घटनाको आवश्यक अध्ययन तथा जाँचबुझ गरी आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेस गर्न नेप्सेलाई निर्देशन दिइएको छ।

त्यसैगरी, घटनाको प्राविधिक पक्ष तथा कारोबार स्थगित गर्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा अध्ययन गर्न बोर्डले उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ। उक्त टोलीले डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या, त्यसको प्रभाव तथा कारोबार प्रणालीमा पर्न सक्ने सम्भावित जोखिमलगायत विषयमा अध्ययन गर्नेछ।

यसअघि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि डाटा सेन्टरमा देखिएको समस्या समाधान नभएको अवस्थामा नियमित कारोबार सत्र सञ्चालन गर्दा थप जोखिम उत्पन्न हुन सक्ने भन्दै कारोबार स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो।

सोही परिस्थितिलाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको जनाएको छ।

बोर्डले निरीक्षण टोलीबाट प्राप्त सुझाव तथा नेप्सेबाट प्राप्त हुने प्रतिवेदनका आधारमा धितोपत्र बजारको पूर्वाधार तथा कारोबार प्रणालीमा आवश्यक सुधारका काम अघि बढाउने जनाएको छ।

बोर्डका प्रवक्ता घिमिरेले धितोपत्र बजारको कारोबार प्रणालीलाई विश्वसनीय र सुरक्षित बनाउन प्राविधिक जोखिमको पहिचान तथा न्यूनीकरणका लागि आवश्यक कदम चालिने जानकारी दिए।

बोर्डले आगामी दिनमा यस्ता प्राविधिक समस्याका कारण बजारको नियमित कारोबार प्रभावित नहोस् भन्ने उद्देश्यले डाटा सेन्टर तथा कारोबार प्रणालीको सुरक्षा, विश्वसनीयता र जोखिम व्यवस्थापनका विषयमा समेत आवश्यक सुधार अघि बढाउने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *