बाढी प्रभावितका लागि आर्थिक सहयोग थपिँदै: प्रधानमन्त्री राहत कोषमा १५ अर्ब बढी मौज्दात
काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई आर्थिक सहयोग जुट्ने क्रम निरन्तर जारी छ।
बाढीपीडितको उद्धार, राहत तथा पुनस्थापनाका लागि सरकारी कोषमा सहयोग रकम जम्मा हुने क्रमसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी हालसम्म १५ अर्बभन्दा बढी रकम मौज्दात पुगेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त विवरणअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत सञ्चालित विभिन्न नौ वटा वाणिज्य बैंकका नेपाली खातामा मात्रै ११ अर्ब २७ करोड दुई लाख ६० हजार ६८५ जम्मा भइसकेको छ।
यसका साथै, विदेशी सहायता व्यवस्थापनका लागि हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा खोलिएका डलर खाताहरूमा दुई करोड ४८ लाख चार हजार ७०२ अमेरिकी डलर मौज्दात छ। नेपाली र विदेशी मुद्रा गरी सबै खातामा रहेको कुल रकम १५ अर्ब छ करोड ५६ लाख २८ हजार १६७ पुगेको छ।
बाढीबाट प्रभावित बनेका क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य सञ्चालन गर्न सरकारले उक्त कोषबाट यसअघि नै एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।
बाँकी रकम पनि प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना, पुनर्निर्माण र पीडित परिवारलाई राहत वितरणका लागि मापदण्डअनुसार परिचालन गरिने बताइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment