भोटेकोसी विपद्लाई नेपालको जलवायु कूटनीतिको ‘निर्णायक मोड’ बनाउनुपर्छ: विश्वप्रकाश शर्मा
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोटेकोसी विपद्लाई नेपालको जलवायु कूटनीतिका लागि ‘निर्णायक मोड’ बनाउनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जानुअघि प्रधानमन्त्री बालेन शाहसँग भएको भेटमा कांग्रेसका तर्फबाट जलवायु परिवर्तन, क्षति तथा नोक्सानी र अन्तर्राष्ट्रिय जलवायु न्यायका विषयमा सुझाव प्रस्तुत गरिएको शर्माले बताए।
असोज ५ गते प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहलाई संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको आवाज प्रभावकारी रूपमा प्रस्तुत गर्न शुभेच्छा र कांग्रेसका तर्फबाट ऐक्यबद्धता प्रकट गरिएको उनले बताए।
साथै, भोटेकोसी विपद्पछि जलवायु परिवर्तनका असरबारे तथ्य, विश्लेषण र प्रमाणसहित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको दाबी प्रस्तुत गर्नुपर्ने सुझाव दिइएको उनले बताए।
शर्माका अनुसार आगामी नोभेम्बर ९ बाट टर्कीमा सुरु हुने जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलनका लागि समेत नेपालले थप गहन तयारी गर्नुपर्ने सुझाव दिइएको थियो। उनले भोटेकोसी विपद्लाई नेपालको जलवायु कूटनीतिमा नयाँ मोडका रूपमा स्थापित गर्नुपर्ने बताए।
“जलवायुजन्य क्षति तथा हानिको सम्बोधनका लागि नेपालले न्यायोचित वित्तीय सहयोगको दाबी तथ्य, विश्लेषण र प्रमाणसहित बलियो ढङ्गले गर्नुपर्छ,” शर्माले भने।
उनले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय दायित्व र क्षतिपूर्तिको विषयमा अन्तर्राष्ट्रिय न्यायालयले सन् २०२५ जुलाई २३ मा दिएको परामर्शात्मक रायलाई नेपालको दाबीका लागि महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे।
त्यसैगरी, पेरिस सम्झौताअन्तर्गत प्रत्येक देशले निर्धारण गरेका राष्ट्रिय योगदानको प्रगति र वास्तविक उत्सर्जन न्यूनीकरणको अवस्थाबारे नेपालले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने शर्माले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment