मधेशका किसानबाट ३९ करोडको धान खरिद गर्दै आरजु राइस मिल
काठमाडौं। आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानहरूबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ। उक्त खरिदको कुल लागत ३९ करोड रुपैयाँभन्दा बढी हुने कम्पनीले जनाएको छ।
कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले मधेश प्रदेशका मुख्यमन्त्रीलाई पत्र पठाउँदै सर्लाही र रौतहटका किसानबाट सरकारले तोकेको न्यूनतम समर्थन मूल्यका आधारमा धान खरिद गर्ने प्रस्ताव गर्नुभएको हो।
कम्पनीका अनुसार किसानलाई सिधै बजारसँग जोड्न धान संकलन, ढुवानी, गुणस्तर परीक्षण र खरिद प्रक्रियालाई एकीकृत रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। किसानले न्यूनतम समर्थन मूल्यको पूर्ण लाभ पाउनका लागि खरिद केन्द्र वा मिलसम्म धान पुर्याउँदा लाग्ने ढुवानी खर्चमा प्रदेश सरकार, स्थानीय तह, कृषि कार्यालय तथा किसान समूह र सहकारीबाट सहजीकरणको अपेक्षा राखिएको छ।
कम्पनीले २० प्रतिशत चिस्यान र ५ प्रतिशतसम्म भुस भएको मसिनो धानका लागि प्रति क्विन्टल ३ हजार ५ सय रुपैयाँ तोकेको छ। चिस्यान १४ प्रतिशत र भुसरहित धानको मूल्य प्रति क्विन्टल ३ हजार ९ सय ६२ रुपैयाँसम्म पुग्न सक्नेछ।
न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया अघि बढेपछि बिचौलिया र स्थानीय व्यापारीले किसानलाई कम मूल्यमा धान बेच्न बाध्य पार्ने परिपाटी अन्त्य हुने कम्पनीको विश्वास छ। यस पहलले किसानलाई निश्चित बजार र उचित मूल्य प्रदान गर्नुका साथै दीर्घकालीन रूपमा चामल उद्योगसँग साझेदार बनाउन सहयोग पुर्याउनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment