भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाएर मात्र उडान गरौं : वायुसेवा सञ्चालक संघ

डिसी नेपाल
७ असोज २०८३ १५:४०

काठमाडौं । असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले पूर्ण सुरक्षाको प्रत्याभूति गरेर मात्रै उडान सञ्चालन गर्न वायुसेवा सञ्चालक संघले आफ्ना सदस्य वायुसेवा कम्पनीहरूलाई ताकेता गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै संघले बुधबार सर्कुलर जारी गरी गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य क्षेत्रमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको जोखिम रहेको जनाएको छ। वर्षाका कारण बाढी, पहिरो, सहरी डुबान र नदीमा जलसतह बढ्न सक्ने भएकाले हवाई तथा सडक यातायात र नदी तटीय क्षेत्रका निर्माण कार्य प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

संघका अध्यक्ष प्रतापजंग पाण्डेद्वारा जारी सर्कुलरमा प्रतिकूल मौसमका बेला उडान सुरक्षामा कुनै सम्झौता नगर्न आग्रह गरिएको छ। साथै, वर्षाका कारण हुन सक्ने सम्भावित बाढी-पहिरोलगायतका विपद्का बेला तत्काल खोज तथा उद्धार कार्यमा खटिनका लागि आफ्ना वायुसेवा कम्पनीहरूलाई ‘स्ट्यान्डबाई’ (तयार) अवस्थामा रहनसमेत निर्देशन दिइएको छ।

यसैगरी हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम रहेकाले पर्वतारोही तथा पदयात्रीहरूलाई सतर्क रहन भनिएको छ। संघले मौसमको अध्यावधिक विवरणका लागि विभागको वेबसाइट नियमित हेर्न र सोहीअनुसार उडान तालिका मिलाउन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *