भारी वर्षाको जोखिम: असोज ८ र ९ गते विद्यालय बिदा दिन शिक्षा मन्त्रालयको आग्रह

डिसी नेपाल
८ असोज २०८३ ६:१६

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमान अनुसार आगामी असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेको छ।

यसका कारण बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध र विद्युत् तथा सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले सबै शिक्षण संस्था, स्थानीय तह, शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई पूर्वतयारीका साथ सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ।

मन्त्रालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै असोज ८ र ९ गते स्थानीय तहहरूसँगको समन्वयमा आवश्यकता अनुसार विद्यालयहरूमा बिदा दिन निर्देशन दिएको छ।

यसैगरी असोज ९ गतेदेखि ११ गतेसम्मका लागि तोकिएका विश्वविद्यालय तथा अन्य निकायका सम्पूर्ण परीक्षाहरू पनि आवश्यकता अनुसार स्थगित गर्न आग्रह गरिएको छ। विपद्को समयमा सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहलाई पूर्ण सहजीकरण गर्न मन्त्रालयले अनुरोध गरेको छ।

साथै, अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन विशेष सजग गराइएको छ। मन्त्रालयका प्रवक्ता एवम् सहसचिव श्रीप्रसाद भट्टराईले जारी गर्नुभएको सूचनामा यस अवधिमा त्रासभन्दा पनि सावधानी र बुद्धिमत्तापूर्वक पूर्वतयारीमा जुट्न सबै सरोकारवालाहरूलाई आह्वान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *