पाकिस्तानले अफगानिस्तानका १० ठाउँमा बम बर्सायो
काठमाडौं । पाकिस्तानले बिहीबार अफगानिस्तानका १० वटा स्थानमा हवाई आक्रमण गरेको छ। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले अघिल्लो दिन अफगानिस्तानका तर्फबाट भएका ड्रोन आक्रमणको जवाफमा यी कारबाहीहरू गरिएको बताएका छन्।
तरारका अनुसार ती १० स्थानको प्रयोग ड्रोन प्रक्षेपण (लन्च) गर्न र तिनलाई भण्डारण गर्नका लागि भइरहेको थियो। उनले ती अखडाहरूको पहिचान गरी सटीक रूपमा आक्रमण गरिएको दाबी गरे।
अफगानिस्तानले भने यी पछिल्ला आक्रमणहरूबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। पाकिस्तानले बुधवार आफ्ना सुरक्षा बलहरूले ८ वटा ड्रोन खसालेको दाबी गरेको थियो। अधिकारीहरूका अनुसार ती ड्रोनहरू अफगान तालिबानले पठाएका थिए र कोहाट तथा तोर्खम क्षेत्रबाट प्रवेश गर्ने प्रयास गरिरहेका थिए।
सबै ड्रोनहरू सीमा क्षेत्रनजिकै खसालिएका थिए। पाकिस्तानका अनुसार यसबाट कुनै क्षति भने भएको छैन।
अर्कातिर अफगानिस्तानले भने ती आक्रमणहरूमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो। अफगान तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बुधवार आफ्ना सुरक्षा बलहरूले कुनै आक्रमण नगरेको बताएका थिए।
पाकिस्तानी अधिकारीहरूका अनुसार तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) का आतङ्कवादीहरूले पक्तिया र नङ्गरहारबाट पाकिस्तानतर्फ घुसपैठ गर्ने प्रयास गरेका थिए, जसलाई पाकिस्तानी सुरक्षा बलले विफल पारिदिएका थिए।
त्यसपछि अफगान तालिबान बलले पाकिस्तानी सीमा चौकीहरूमा मोर्टार र भारी हतियारहरूबाट गोलाबारी गरे। जवाफमा पाकिस्तानले तालिबानका चौकीहरू र मोर्टार अखडाहरूमा तोपबाट हमला गर्यो।
पाकिस्तानले टीटीपी लाई ‘फितना-उल-खवारिज’ भन्ने गर्छ। टीटीपी र अफगान तालिबान भिन्न सङ्गठनहरू हुन्, यद्यपि दुवैबीच गहिरो गठबन्धन रहेको बताइन्छ।
सन् २००१ मा अमेरिकाले अफगानिस्तानमाथि आक्रमण गर्दा पाकिस्तानले अमेरिकालाई साथ दिएको थियो। यसबाट रुष्ट बनेको टीटीपीले पाकिस्तानको उक्त कदमलाई इस्लामविरुद्ध मान्दै आएको छ।
टीटीपीको मान्यता अनुसार पाकिस्तान सरकारले सच्चा इस्लामको पालना गर्दैन, त्यसैले उसले सरकारविरुद्ध आक्रमण गर्दै आएको छ।
टीटीपीको अफगान तालिबानसँग निकट सम्बन्ध छ र दुवै समूहले एक-अर्कालाई सहयोग गर्दै आएका छन्।
सन् २०२१ मा अफगान तालिबान सत्तामा आएपछि पाकिस्तानले टीटीपीलाई निशाना बनाउँदै अफगानिस्तानभित्र प्रवेश गरेर आक्रमण गर्दै आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment