१ अर्ब ३ करोडभन्दा बढीको हुण्डी कारोबार आरोपमा धरानबाट ज्योति शाही पक्राउ

डिसी नेपाल
८ असोज २०८३ २०:१६

काठमाडौं । एक अर्ब रुपैयाँभन्दा बढी रकम हुण्डीमार्फत कारोबार गरेको आरोपमा प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगपालिका-१३ की ज्योति शाही छिन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार शाहीलाई धरान उपमहानगरपालिका–५ खैरेनीबाट पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा उनको संलग्नता र कारोबारसम्बन्धी थप विवरण संकलन भइरहेको जनाइएको छ।

सीआईबीले शाहीमाथि अन्य व्यक्तिसँगको मिलेमतोमा अनौपचारिक माध्यमबाट रकम कारोबार गरेको आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ। सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार उनलाई बुधबार अपराह्न करिब ४:४५ बजे पक्राउ गरिएको हो।

प्रहरीका अनुसार उनले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा घरेलु तथा साना उद्योग कार्यालय, इटहरी, सुनसरीमा २०६८ भदौ १६ गते दर्ता गरिएको ‘शाही मनि ट्रान्सफर’ नामको फर्मका नाममा कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोली सञ्चालन गरेकी थिइन्।

ती खातामार्फत विभिन्न असम्बन्धित व्यक्तिहरूले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपालमा ल्याई स–साना रकममा विभाजन गरी कनेक्ट आईपीएसलगायत विद्युतीय डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिका खातामा पठाउने गरेको अनुसन्धानबाट देखिएको सीआईबीले जनाएको छ।

प्रहरीका अनुसार उक्त माध्यमबाट करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको रकम हुण्डी कारोबार भएको देखिएको छ।

यसै आधारमा सुनसरी जिल्ला अदालतबाट असोज ६ गते हुण्डीसम्बन्धी कसुरमा पक्राउ अनुमति लिएर सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एसएसपी जबराले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *