साना नदीहरूमा आकस्मिक बाढीको जोखिम: उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं। जल तथा ऊर्जा आयोगको सचिवालय, बाढी पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न जिल्ला भई बहने साना नदीहरूमा जलसतह उल्लेख्य बढेर आकस्मिक बाढी आउन सक्ने चेतावनी जारी गरेको छ।
महाशाखाका अनुसार आज असोज ९ गते गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
यसैगरी ताप्लेजुङ, इलाम, झापा, काठमाडौँ उपत्यका, सिन्धुपाल्चोक, धादिङ, चितवन, म्याग्दी, बागलुङ, जुम्ला, कालिकोट, अछाम, बैतडी लगायतका अधिकांश जिल्लाका साना नदीहरूमा मध्यम जोखिम रहने अनुमान गरिएको छ।
यस्तै भोलि असोज १० गते नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर जिल्लाका साना नदीहरूमा बाढीको उच्च जोखिम रहनेछ भने अन्य जिल्लाहरूमा मध्यम जोखिम कायम रहने महाशाखाले जनाएको छ। पर्सि असोज ११ गते पनि साताैँ प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेको छ।
नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बाढी आउने सम्भावना उच्च रहेकाले सर्वसाधारणलाई अत्यावश्यक सामग्री तयारी अवस्थामा राख्न र आवश्यक परे सुरक्षित स्थानमा जान तयार रहन महाशाखाले अपिल गरेको छ।
साथै सरोकारवाला निकायहरूलाई आपत्कालीन तयारी, उद्धार तथा राहतका स्रोत-साधन तयारी अवस्थामा राख्न र सतर्कता अपनाउन परामर्श दिइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment