सप्तकोशीमा पानीको बहाव २ लाख २९ हजार क्युसेक नाघ्यो, ३० ढोका खोलिए
इनरुवा। पूर्वी पहाडी तथा तराईका जिल्लाहरूमा निरन्तर भइरहेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको छ।
शुक्रबार अपराह्न १:१५ बजे गरिएको पछिल्लो मापनअनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव २ लाख २९ हजार ९६० क्युसेक प्रतिसेकेन्ड पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक (DSP) चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
नदीमा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका कुल ५६ वटा ढोकाहरूमध्ये ३० वटा ढोका खुला गरिएको छ।
बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ भने रातो झन्डासमेत फहराइएको कोशी ब्यारेज नियन्त्रण कक्ष (कन्ट्रोल रुम) ले जनाएको छ। नदीमा पानीको सतह अझै बढ्न सक्ने अनुमानका साथ जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको छ।
नदीको बहाव उकालो लागेपछि कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुरक्षाकर्मीहरूले माइकिङ गरिरहेका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले नदी किनारका बासिन्दालाई विशेष सजगता अपनाउन आग्रह गरेका छन्।
साथै, बाढीका बेला नदीमा बगेर आउने काठ-दाउरा संकलन गर्न जाने क्रममा दुर्घटना र ज्यानको जोखिम हुन सक्ने भएकाले त्यस्ता कार्य नगर्न र नदी किनारमा नजान प्रजिअ अर्यालले सर्वसाधारणलाई कडा निर्देशन दिएका छन्।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेकाले विपद् व्यवस्थापन निकायहरूलाई समेत उच्च सतर्क अवस्थामा राखिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment