साउदी अरबमा हुथी आक्रमण तीव्र, दुई ड्रोन र दुई क्षेप्यास्त्र रोकिएको दाबी

डिसी नेपाल
१० असोज २०८३ १८:३५

रियाद। यमनका हुथी विद्रोहीहरूले साउदी अरबमाथि नयाँ आक्रमण जारी राखेपछि साउदी नेतृत्वको गठबन्धनले शनिबार दुई ड्रोन र दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र रोकेको दाबी गरेको छ। इरान समर्थित हुथी समूहले राजधानी रियादसहित विभिन्न क्षेत्रमा नयाँ आक्रमण गरेपछि अन्तर्राष्ट्रिय स्तरबाट समेत चिन्ता व्यक्त गरिएको छ।

गत जुलाईदेखि हुथी समूहका आक्रमण निरन्तर तीव्र बनेका छन्। लामो समयदेखि कायम युद्धविराम अन्त्य भएपछि यमनको द्वन्द्व थप चर्किएको छ र यसले मध्यपूर्वमा जारी व्यापक युद्धसँग समेत सम्बन्ध जोडेको छ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यसअघि साउदी अरबमाथि बढ्दो हुथी आक्रमणको निन्दा गरेको थियो। परिषद्ले ती आक्रमणमा महिला र बालबालिकासहित सर्वसाधारण घाइते भएको उल्लेख गरेको छ।

हुथी समूहले साउदी अरबमाथि समुद्री नाकाबन्दीसमेत लगाएको दाबी गरिएको छ। उसले तेल बोकेका पानीजहाजमाथि आक्रमण गर्नुका साथै यमनको लाल सागर तटीय क्षेत्रमा नियन्त्रण विस्तार गरेको छ र साउदी भूमितर्फ क्षेप्यास्त्र प्रहार गर्दै आएको छ। यस्ता गतिविधिका कारण ऊर्जा बजारमा समेत असर परेको बताइएको छ।

साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताका अनुसार शनिबार हवाई प्रतिरक्षा प्रणालीले हुथी समूहले रियाद क्षेत्रतर्फ प्रहार गरेका दुई ड्रोन पहिचान गरी नष्ट गरे। त्यसैगरी, दक्षिणपश्चिमी सहर खमिस मुशैततर्फ प्रहार गरिएका दुई ब्यालेस्टिक क्षेप्यास्त्र पनि रोकिएको गठबन्धनले जनाएको छ। उक्त क्षेत्रमा एउटा महत्वपूर्ण हवाई सैनिक अड्डा रहेको छ।

हुथी राजनीतिक ब्युरोका सदस्य हेजाम अल–असदले आफ्नो समूहको सैन्य अभियान अझ ठूलो द्वन्द्वका लागि तयारी मात्र भएको बताए। उनले भने, “अभियानको शक्ति, दायरा र प्रभावका बाबजुद हाम्रो सशस्त्र बलले यसलाई पूर्ण स्तरको युद्धका लागि एउटा सानो अभ्यासका रूपमा मात्र हेरेको छ।”

खाडी सहयोग परिषद्का महासचिव जासेम मोहम्मद अल्बुदाइवीले पनि हुथी आक्रमणको निन्दा गरे। उनले भने, “यस्ता गतिविधि साउदी अरबको सार्वभौमसत्तामाथिको गम्भीर उल्लंघन हुन्। यसले सर्वसाधारणको सुरक्षा र क्षेत्रीय स्थायित्वमा प्रत्यक्ष खतरा उत्पन्न गराएको छ।” अल्बुदाइवीले अन्तर्राष्ट्रिय समुदायलाई आक्रमण रोक्न तथा हुथी समूहलाई जवाफदेही बनाउन दृढ कदम चाल्न आग्रह गरे।

यसैबीच, यमनको शासकीय निकायका प्रमुख रशाद अल-अलिमीले शुक्रबार हुथी आक्रमणको सामना गर्न देशभर आम परिचालनको आह्वान गरे।

हुथी सेनाले यमनी सरकारी सेनाविरुद्ध सञ्चालन गरिरहेको स्थल अभियानका कारण मानवीय संकट थप गहिरिने जोखिम बढेको छ। संयुक्त राष्ट्रसंघका अनुसार अगस्टदेखि हालसम्म यमनमा एक लाख ३८ हजार मानिस विस्थापित भएका छन्, जसमा करिब ७० हजार बालबालिका रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *