सरकारले चोलेन्द्रलाई पक्राउ गरेको हो कि सुरक्षा दिएको?
काठमाडौं। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार राति प्रहरीले काठमाडौंको बाँसबारीस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको छ। जबराको निवासमा पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर गएको हो।
प्रहरीले घरबाट लैजाने क्रममा जबराले आफूविरुद्ध कुनै पक्राउ पुर्जी भए-नभएको भन्दै जिज्ञासा राखेका थिए।
जवाफमा प्रहरी टोलीले उनलाई औपचारिक रूपमा गिरफ्तार नगरिएको तर पछिल्लो समय ‘जेनजी’ (युवा पुस्ता) का समूहहरूबाट सुरक्षा चुनौती बढेकाले सुरक्षित स्थानमा लैजान लागिएको जनाएको स्रोतले जनाएको छ।
प्रहरीको सुरक्षा नियन्त्रणमा पर्नुअघि जबराले पछिल्ला केही समययता विभिन्न हिन्दू सम्बद्ध संघ-संगठनहरूसँग निरन्तर संवाद र भेटघाट तीव्र बनाएका थिए। उनका यी पछिल्ला गतिविधि र भेलाहरूलाई सुरक्षा निकायहरूले सूक्ष्म निगरानी (सर्विलन्स) मा राख्दै आएका थिए।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई स्वदेश फर्किएकै भोलिपल्ट यो कदम चालिएकाले यसलाई उच्च राजनीतिक एवं प्रशासनिक निर्णयसँग जोडेर हेरिएको छ। जबरालाई अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको छ ।
न्यायालयको नेतृत्वमा रहँदा तत्कालीन मन्त्रिपरिषदमा भागबन्डा खोजेको, बिचौलियालाई प्रश्रय दिएको र न्यायिक विचलन ल्याएको लगायतका गम्भीर आरोप लागेपछि जबरा तीव्र विवादमा तानिएका थिए। नेपाल बार एशोसिएसन र कानुन व्यवसायीहरूले उनीविरुद्ध लामो समयसम्म सर्वोच्च अदालत परिसरमै सशक्त आन्दोलन र धर्ना कार्यक्रम सञ्चालन गरेका थिए।
२०७५ पुस १८ गते देशको २९औं प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते सत्तागठबन्धनका ९८ जना सांसदहरूले संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। महाभियोग दर्ता भएसँगै उनी पदबाट स्वतः निलम्बित भएका थिए।
संसद्मा महाभियोग प्रस्तावमाथि छानबिन समितिको प्रतिवेदन पेस भए पनि त्यसलाई संसद्बाट औपचारिक रूपमा टुङ्गो नलगाइँदा उनी निलम्बनकै अवस्थामा रहे।
त्यसपछि सर्वोच्च अदालत फर्किने उनको प्रयास सफल हुन सकेन र उनी निलम्बित अवस्थामै उमेर हद (६५ वर्ष) का कारण २०७९ मङ्सिर २८ गते (डिसेम्बर १४, २०२२) अनिवार्य अवकाशमा गएका थिए।
पछिल्लो समय उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा उजुरी परेको थियो। अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोही वा अन्य कुनै आपराधिक छानबिनका सिलसिलामा नियन्त्रणमा लिएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले थप अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment