लगातारको वर्षाले कर्णालीका पाँच जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
११ असोज २०८३ १०:११

सुर्खेत। लगातारको वर्षाका कारण कर्णाली प्रदेशका पाँच जिल्लामा आज स–साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत भएर बहने स–साना नदी तथा खोलामा पानीको सतह अचानक बढ्न सक्ने सम्भावना छ।

छोटो समयमा हुने भारी वर्षाले पहाडी क्षेत्रका खोलानाला र खोल्सामा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी आसपासका बस्ती तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

कर्णाली प्रदेशमा पछिल्ला केही दिनदेखि निरन्तर वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण प्रदेशका विभिन्न जिल्लामा सडक तथा राजमार्गमा पहिरो खस्ने, लेदो बग्ने र यातायात पूर्ण रूपमा प्रभावित हुने क्रम बढेको छ।

हाल कर्णालीका विभिन्न छ जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भइसकेका छन्। यस्तो स्थितिमा नदी तथा खोलाको बहाव थप बढ्दा सडक, पुल, बस्ती तथा अन्य भौतिक पूर्वाधारमा अझ ठूलो क्षति पुग्न सक्ने जोखिम देखिएको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशका अन्य विभिन्न जिल्लाहरूमा भने आकस्मिक बाढीको उच्च जोखिम रहेको चेतावनी दिएको छ।

विभागका अनुसार रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा र गुल्मी लगायतका जिल्लाहरू भएर बहने नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको छ। तसर्थ, ती क्षेत्रका तटीय तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने सबै नागरिकलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *