गोरखा सेवा समाज कतारद्वारा फेसन डिजाइनर सोन्या गुरुङ सम्मानित

सुरेश भट्ट आश्रिन
१२ असोज २०८३ ९:४१

दोहा, कतार। कतारमा क्रियाशील गोरखालीहरूको साझा संस्था ‘गोरखा सेवा समाज कतार’ले चर्चित नेपाली फेसन डिजाइनर सोन्या गुरुङलाई विशेष स्वागत तथा सम्मान गरेको छ।

‘कतार फेसन शो-२०२६’ मा नेपाली फेसन डिजाइनरहरूको प्रतिनिधित्व गर्दै दोहा पुगेकी गुरुङलाई समाजले दोहाको मुम्ताजास्थित गोर्खाली रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बीच दोसल्ला र कदरपत्रद्वारा सम्मानित गरेको हो।

बिगत दुई दशकदेखि फेसन डिजाइनलाई व्यावसायिक रूपमा अघि बढाउँदै आएकी गुरुङले नेपाली मौलिक पोसाक, कला र संस्कृतिलाई आधुनिक फेसनमा ढालेर अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्दै आएकी छन्।

फेसन डाइरेक्टर, क्रिएटिभ हेड, ‘सोन्या स्टाइलिस्ट’की सीईओ तथा ‘क्रिएटिभ फेसन टिम नेपाल’की संस्थापकसमेत रहेकी उनले नेपालका लागि ६ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेकी छन्।

गोरखाको दुर्गम क्षेत्र चुमनुब्रीबाट सुरु भएको उनको प्रतिभा, मेहनत र सिर्जनशीलताको यात्राले भूगोल कहिल्यै सफलताको बाधक बन्न सक्दैन भन्ने प्रेरणा दिएको कार्यक्रमका वक्ताहरूले बताए। मौलिक नेपाली कला र पहिरनलाई विश्व फेसन बजारसम्म पुर्‍याउन उनले खेलेको भूमिकाको सहभागीहरूले उच्च प्रशंसा गरेका थिए।

समाजका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संरक्षक बुधबल गुरुङ, प्रमुख सल्लाहकार राकेश श्रेष्ठ, सल्लाहकार ओमराज गुरुङ र वरिष्ठ उपाध्यक्ष अर्जुन सङ्ग्रौलाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव रुद्र भट्टले गरेका थिए।

नेपाली कला, संस्कृति र सिर्जनशीलतामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने नीतिअनुरूप यो सम्मान प्रदान गरिएको गोरखा सेवा समाजले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *