बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग
काठमाडौं। लगातार चार दिनसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि सांसदहरूले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको सोमबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले बाढीपहिरोका कारण अवरुद्ध सडक तथा राजमार्ग तत्काल सञ्चालनमा ल्याउन, प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण अघि बढाउन माग गरेका हुन्।
नेपाली कम्युनिष्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले पाल्पामा बाढीपहिरोका कारण सडक अवरुद्ध हुनुका साथै मानवीय तथा भौतिक क्षति भएको बताइन्। उनले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरिन्। साथै, सडक, पुल तथा भवनमा पुगेको क्षतिको तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
नेकपा (एमाले)की सांसद सम्झना देवकोटाले लगातारको वर्षाका कारण गण्डकी प्रदेशका मनाङमा बाढीपहिरोबाट ठूलो क्षति पुगेको भन्दै मुख्य राजमार्ग तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग गरिन्। चाडपर्व नजिकिँदै गर्दा सडक अवरुद्ध हुँदा आवतजावत तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने भन्दै उनले समयमै आवश्यक व्यवस्थापन गर्न सरकारसँग आग्रह गरिन्।
जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरीले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्रता दिन माग गरिन्। विपद्पछि महामारीको जोखिमसमेत बढ्न सक्ने भएकाले स्वास्थ्य सुरक्षातर्फ ध्यान दिन सरकारलाई आग्रह गर्दै उनले रसुवाका बाढी प्रभावितलाई समयमै राहत उपलब्ध गराई पुनःस्थापनाको काम अघि बढाउनुपर्ने बताइन्।
उनले चाडपर्वको समयमा बजारमा हुन सक्ने महँगी र कृत्रिम अभाव नियन्त्रण गर्नसमेत सरकारको ध्यानाकर्षण गराइन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment