चाडपर्व लक्षित ट्राफिक चेकजाँचमा कडाइ, सडकको अवस्था बुझेर यात्रा गर्न आग्रह

डिसी नेपाल
१५ असोज २०८३ १२:३२

हेटौँडा । बाढी, पहिरो तथा वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको चेकजाँचमा कडाइ गरेको छ।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने र राजमार्गमा सवारीसाधनको आवागमनसमेत बढ्ने भएकाले दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रा सुनिश्चित गर्न ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा विशेष चेकजाँच अभियान सञ्चालन गरेको हो।

ट्राफिक प्रहरीले यात्रामा निस्कनुअघि आफू जाने गन्तव्यसम्मको सडकको अवस्था तथा सवारीसाधनको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। विशेषगरी बाढी, पहिरो तथा वर्षाका कारण जोखिममा रहेका सडकखण्डमा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानमा नियमित चेकजाँचलाई निरन्तरता दिएको जनाएको छ। चेकजाँचका क्रममा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउने कार्यलाई समेत प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।

चाडपर्वमा लामो दूरीका सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले चालकले तीव्र गतिमा सवारी नचलाउन, क्षमता भन्दा बढी यात्रु नराख्न तथा सडकको अवस्था हेरेर सावधानीपूर्वक सवारी सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार चाडपर्व नजिकिँदै गर्दा राजमार्गमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटना रोक्न चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ। उनका अनुसार चालकको अवस्था, सवारीसाधनको अवस्था र ट्राफिक नियम पालनालाई प्राथमिकतामा राखेर निगरानी भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *