बर्खायाममा स्क्रब टाइफसको जोखिम: समयमै उपचार पाए पूर्ण रूपमा निको हुने
काठमाडौं। कुनै पनि सरुवा रोग फैलिएपछि त्यसलाई नियन्त्रणमा लिन निकै कठिन हुने गर्छ। एक व्यक्तिबाट अर्कोमा सङ्क्रमण सरेपछि स्थिति नियन्त्रणमा ल्याउन समय लाग्ने गर्छ। सल्यानको एउटा पालिकाबाट सुरु भएको स्क्रब टाइफसको सङ्क्रमण हाल सातवटा पालिकासम्म फैलिएको छ।
सल्यानमा पछिल्लो समय स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेपछि स्वास्थ्य तथा जनस्वास्थ्य निकायहरूले निगरानी र उपचारलाई तीव्र बनाएका छन्। सङ्क्रमण नियन्त्रणका लागि स्थानीय स्तरमा स्वास्थ्यकर्मी परिचालन गरिनुका साथै स्वास्थ्य सेवा विभागबाट विज्ञहरूको टोलीसमेत सल्यानतर्फ पठाइएको छ।
जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी बन्धना कुमारी केसीका अनुसार पछिल्लो तथ्याङ्कमा स्क्रब टाइफस सङ्क्रमणको दर घट्दो क्रममा रहेको छ। उनका अनुसार असोज १५ गतेसम्म करिब ४८० जनामा सङ्क्रमण पुष्टि भएको छ।
प्रमुख जिल्ला अधिकारी केसीले सङ्क्रमणको सङ्ख्यात्मक अनुपात घटिरहेको र स्वास्थ्यकर्मीहरू पर्याप्त मात्रामा परिचालन गरिएको बताएकी छन्। औषधिको आपूर्तिसमेत सहज रहेकाले हाल आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
“हालसम्मको अवस्था हेर्दा सङ्क्रमणको सङ्ख्यात्मक अनुपात घट्दो क्रममा छ। हिजोसम्मको तथ्याङ्कअनुसार करिब ४८० जनामा मात्र सङ्क्रमण पुष्टि भएको छ। हाम्रो स्वास्थ्य टोलीका अनुसार सङ्क्रमण दर घटिरहेको छ र आगामी एक हप्ताभित्र यो पूर्ण रूपमा नियन्त्रणमा आउने अनुमान गरिएको छ,” उनले भनेकी छन्।
यसै विषयलाई विशेष रूपमा सम्बोधन गर्न स्वास्थ्य सेवा विभागबाट विज्ञहरूको टोली नेपालगञ्ज पुगेको छ। उक्त टोलीले सङ्क्रमणको अवस्था, उपचार तथा नियन्त्रणका उपायबारे स्थलगत अध्ययन गर्ने बताइएको छ। टोली असोज १६ गते दिउँसो १२ बजेसम्म सबैभन्दा पहिले सङ्क्रमण देखिएको दार्मा गाउँपालिका पुग्ने प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिएकी छन्।
के हो स्क्रब टाइफस ?
सरुवा रोग तथा सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार स्क्रब टाइफस ‘ओरियन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाका कारण हुने सङ्क्रमण हो। यो ब्याक्टेरिया ‘चिगर माइट’ नामक एक प्रकारको किर्नाको टोकाइबाट मानिसमा सर्ने गर्छ।
डा. पुनका अनुसार नेपालमा स्क्रब टाइफस विगतदेखि नै देखिँदै आए पनि २०७२ सालको भूकम्पपछि यसको सङ्क्रमण उल्लेख्य रूपमा देखिन थालेको हो। पछिल्लो समय विशेष गरी बर्खायाममा यसको सङ्क्रमण बढी देखिने गरेको उनले बताए।
सल्यानमा अहिले छोटो समयमै धेरै मानिसमा सङ्क्रमण देखिनु र केहीको मृत्यु भएको विवरण सार्वजनिक हुनु चिन्ताको विषय भएको डा. पुनको भनाइ छ। उनले सङ्क्रमण फैलिएपछि सुरक्षित रहने उपाय खोज्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार सङ्क्रमित भएको करिब २० दिनपछि स्क्रब टाइफसका लक्षणहरू देखिन सुरु हुन सक्छन्। सामान्यतया ज्वरो आउने, आँखा हल्का रातो हुने र श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षणहरू देखिन सक्छन्।
त्यसका साथै शरीरमा ‘स्कार’ अर्थात् कालो पाप्रा जस्तो घाउ देखिनु स्क्रब टाइफसको महत्त्वपूर्ण सङ्केत हुन सक्ने डा. पुनले बताए। ज्वरोसँगै शरीरमा यस्तो कालो पाप्रा देखिएमा स्क्रब टाइफसको सम्भावना हुने भए पनि सङ्क्रमण पुष्टि गर्न प्रयोगशाला परीक्षण नै आवश्यक हुने उनको भनाइ छ। समयमै उपचार हुन नसके सङ्क्रमण जटिल बन्दै निमोनिया हुनुका साथै शरीरका विभिन्न अङ्गमा असर पार्न सक्ने र ‘मल्टी-अर्गन फेलियर’ सम्म हुन सक्ने चेतावनी डा. पुनले दिएका छन्।
समयमै उपचार गरे निको हुन्छ
डा. पुनका अनुसार स्क्रब टाइफसको उपचार सामान्यतया सहज छ। सङ्क्रमणलाई समयमै पहिचान गरेर आवश्यक एन्टिबायोटिकको कोर्स पूरा गरेमा बिरामी पूर्ण रूपमा निको हुन सक्ने उनले बताएका छन्।
उनले आरडीटी किटलगायत परीक्षणको प्रयोग बढाएर सङ्क्रमितको छिटो पहिचान गर्नुपर्नेमा जोड दिए। लक्षणका आधारमा समयमै शङ्का गरी उपचार सुरु गर्न सके जटिलता रोक्न सकिने उनको भनाइ छ।
कसरी बच्ने ?
स्क्रब टाइफसबाट बच्न वातावरणीय तथा व्यक्तिगत सावधानी महत्त्वपूर्ण हुने डा. पुनले बताए। उनका अनुसार चिगर माइट मुसासँग सम्बन्धित वातावरणमा बढी पाइने भएकाले घर तथा वरपर मुसा आउने अवस्था सिर्जना हुन दिनु हुँदैन।
त्यस्तै, अग्लो झारपात तथा घाँसे क्षेत्रमा चिगर माइट पाइने भएकाले घाँस-दाउरा गर्ने तथा खेतबारीमा काम गर्ने व्यक्तिले शरीर पूरै ढाक्ने कपडा लगाउनुपर्ने उनले बताए।
“मुख्य कुरा शरीर राम्ररी ढाक्ने कपडा लगाउनु हो। गाउँघरमा घाँस-दाउरा गर्दा सङ्क्रमण बढी देखिनुको कारण पनि यही हो। तर यसको अर्थ सहरमा हुँदै हुँदैन भन्ने होइन, बच्ने उपायहरू खोज्नु नै उपयुक्त हुन्छ,” डा. पुनले भने।
उनका अनुसार स्क्रब टाइफस नियन्त्रणका लागि जनचेतना विस्तारसँगै सरकारले समयमै सूचना प्रवाह गर्न आवश्यक छ। सङ्क्रमणका लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्थामा परीक्षण तथा उपचार गराउन सके अहिले देखिएको सङ्क्रमणलाई छिटो नियन्त्रणमा लिन सकिने उनले बताएका छन्।
सल्यानमा सङ्क्रमणको दर घटिरहेको जिल्ला प्रशासनको दाबी रहे तापनि स्वास्थ्य विज्ञहरूले भने लक्षण देखिएका व्यक्तिको समयमै परीक्षण र उपचार तथा सङ्क्रमणको स्रोतबारे थप निगरानी आवश्यक रहेको औँल्याएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment