एन्टाको आठौं महाधिवेशन : अध्यक्षमा ध्रुव कुमार झा चयन, नयाँ कार्यसमिति सर्वसम्मत

ऋषिराम कट्टेल
१९ असोज २०८३ १०:३८

राले, नर्थ क्यारोलाइना।  अमेरिकामा रहेका नेपाली तराईवासीहरूको साझा संस्था एसोसिएसन अफ नेपाली तराईयन इन अमेरिका (एन्टा) को आठौँ महाधिवेशन ध्रुव कुमार झाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ।

अक्टोबर ३ मा नर्थ क्यारोलाइनाको राले सहरमा आयोजित महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरिएको हो।

नयाँ गठित समितिको वरिष्ठ उपाध्यक्षमा सुनील मिश्रा, राष्ट्रिय उपाध्यक्षमा नसिम अन्सारी तथा अन्तर्राष्ट्रिय उपाध्यक्षमा श्यामली साह र अमिरी मोची चयन भएका छन्।

त्यसैगरी महासचिवमा सुनीता देव, सहसचिवमा कृष्ण शाह, कोषाध्यक्षमा बसन्त चौधरी, सहकोषाध्यक्षमा नीलम यादव र प्रवक्तामा तुलसी साह चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा सुधीर सिंह, संगीता कर्ण, सन्दीप सिंह र अभिमन्यु कुमार लाभ रहेका छन्।

‘सँगै हुँदा अझ बलियो: विगतलाई जोड्दै, भविष्य निर्माण गर्दै’ भन्ने मुख्य नाराका साथ आयोजित यस महाधिवेशनमा अमेरिकाका विभिन्न राज्यबाट संस्थापकहरू, अग्रज व्यक्तित्वहरू, पूर्व तथा वर्तमान पदाधिकारी, सामुदायिक अगुवा, साधारण सदस्य र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।

निवर्तमान अध्यक्ष तौलेश्वर चौधरी नेतृत्वको केन्द्रीय कार्यसमितिले आयोजना गरेको महाधिवेशनमा नेपालका बाढीपीडितहरूका लागि १२ हजार ४४६ अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरिएको जानकारी पनि गराइएको थियो।

दीप प्रज्वलन तथा नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाएर विधिवत् रूपमा सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि अरविन्द झा, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष ददिन पाण्डे, नेपाली विमेन्स ग्लोबल नेटवर्ककी अध्यक्ष तेजस्वी गिरी र हिन्दू सोसाइटी अफ नर्थ क्यारोलाइनाका अध्यक्ष पराग दिघेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। स्वागत मन्तव्य प्रस्तुत गर्दै डा. दशरथ लोहारले सामुदायिक सहकार्य र संस्थाको उद्देश्यलाई निरन्तर अघि बढाउनुपर्ने कुरामा विशेष जोड दिएका थिए।

महाधिवेशनको बन्द सत्रमा निवर्तमान महासचिव प्रभात झा र कोषाध्यक्ष सन्तोष साहले क्रमशः कार्यप्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनमा सन् २०२४-२०२६ को कार्यकालमा सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरू, संस्थागत उपलब्धि र पारदर्शी आर्थिक व्यवस्थापनका विवरणहरू समेटिएका थिए।

सो अवधिमा एन्टाका विभिन्न शाखाहरूको विस्तार, सदस्यता सुदृढीकरण, शिक्षा र छात्रवृत्ति प्रवर्द्धन, सामुदायिक सेवा तथा मानवीय सहयोगसम्बन्धी पहलहरूलाई प्रभावकारी रूपमा अघि बढाइएको जानकारी दिइएको थियो।

महाधिवेशनअन्तर्गत समुदाय निर्माणसम्बन्धी एक विशेष समूह छलफल (प्यानल डिसक्सन) पनि आयोजना गरिएको थियो। राजेश शाहले सहजीकरण गरेको उक्त छलफलमा अन्नपूर्णा देव, मुकेश कुमार सिंह, अपराजिता झा र ललित झाले संस्थाको स्थापना, यसको विकासक्रम तथा संस्थामा आगामी पुस्ताको भूमिकाबारे आफ्ना अनुभव र धारणाहरू प्रस्तुत गरेका थिए।

संस्थापक सदस्य मुकेश सिंहले एन्टाले हालसम्म हासिल गरेका महत्त्वपूर्ण उपलब्धिबारे चर्चा गर्दै आगामी दिनमा संस्थाले प्राथमिकता दिनुपर्ने मुख्य क्षेत्रहरूबारे आफ्नो विचार राखेका थिए।

यसैबीच, महाधिवेशनका अवसरमा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरू तथा शाखाहरूलाई ‘एन्टा अवार्ड्स २०२६’ बाट सम्मानित गरिएको थियो। जसअनुसार सन्तोष साहले उत्कृष्ट नेतृत्व, नीलम यादवले उत्कृष्ट कार्यकारी, डा. सरोज कुमार साहले उत्कृष्ट शैक्षिक र नसिम अन्सारीले उद्यमशीलता पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै, सुनीता देवलाई महिला सशक्तीकरण, सुनील मिश्रालाई उत्कृष्टता, अमिरी मोचीलाई अध्यक्ष पुरस्कार तथा रिदम शाहलाई वर्षको उत्कृष्ट विद्यालय विद्यार्थी पुरस्कार प्रदान गरिएको थियो।

विनय भूषण मिश्रालाई सम्मान पुरस्कार र ललित झालाई वर्षको उत्कृष्ट दाता पुरस्कारबाट सम्मानित गरिएको थियो। संस्थागततर्फ जर्जिया एटलान्टा शाखाले उत्कृष्ट शाखाको पुरस्कार हात पारेको छ भने शिव मिश्रालाई प्रतिष्ठित ‘आजीवन उपलब्धि पुरस्कार’ (लाइफटाइम एचिभमेन्ट अवार्ड) प्रदान गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *