कांग्रेसको उम्मेदवारी दर्ता शुरू हुँदै, सात ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व

डिसी नेपाल
२० असोज २०८३ १०:३६

काठमाडौ। नेपाली कांग्रेसको १५ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आजबाट उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। देशभरिबाट चुनिएर आएका कुल ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिहरूले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।

निर्वाचन समितिले भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी मनोनयन फारम वितरण तथा दर्ताको व्यवस्था मिलाएको छ। बिहान १० बजेदेखि फारम वितरण र उम्मेदवारी दर्ताको काम सुरु भएको छ।

महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली राष्ट्रिय सभागृहको परिसरमा टाँसिएको छ। उम्मेदवारी दिन चाहने आकांक्षीहरूले सभागृहभित्रै रहेको प्रभु बैंकको काउन्टरमा तोकिएको दस्तुर बुझाएर रसिद लिई उम्मेदवारी दर्ता गर्न सक्नेछन्। तोकिएको कार्यतालिका अनुसार आजै मनोनयन दर्ता प्रक्रिया सम्पन्न गरी अन्तिम नामावली प्रकाशनको तयारी गरिनेछ।

कांग्रेसले यस महाधिवेशनमार्फत आफ्नो केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्यामा उल्लेख्य संशोधन गरेको छ। सोमबार पारित संशोधित विधानअनुसार केन्द्रीय कार्यसमितिलाई साबिकको १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ। त्यसैगरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्‍याइएको छ।

नयाँ वैधानिक व्यवस्था अनुसार उपसभापतिमा १ वरिष्ठ उपसभापति र १ महिला उपसभापति थप गरी कुल संख्या ४ पुर्‍याइएको छ। महामन्त्रीमा १ अनिवार्य महिलासहित कुल ३ जना रहनेछन् भने २ खुला सहमहामन्त्री थपेर सहमहामन्त्रीको संख्या ११ पुर्‍याइएको छ। यसका साथै प्रवक्ता पदको थप व्यवस्था गरिएको छ भने आवश्यकता अनुसार सहप्रवक्ताहरू मनोनीत गरिनेछ।

यसअघि सम्पन्न १४ औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय र पदाधिकारी संख्या १४ मात्र रहेको थियो। यस पटक महाधिवेशन प्रतिनिधिको संख्यामा वृद्धि हुनुका साथै समावेशी र प्रादेशिक प्रतिनिधित्वलाई व्यवस्थित बनाउन कार्यसमिति र पदाधिकारीको आकार बढाएको कांग्रेसले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *