फ्रान्सका यहुदीलाई देशबाट हटाउने तयारी
काठमाडौं । फ्रान्समा लगातार बढ्दै गएको हिंसात्मक प्रदर्शन र दङ्गाका बिच इजरायललाई त्यहाँ बसोबास गरिरहेका यहुदीहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ। यही कारणले गर्दा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले फ्रान्सबाट सम्भावित ठुलो सङ्ख्यामा हुन सक्ने यहुदीहरूको बसाइँसराइ अर्थात् ‘अलिया’ का लागि पूर्वतयारी सुरु गर्न निर्देशन दिएका छन्।
यसैबिच इजरायलमा आम निर्वाचनको माहोल पनि जारी छ। इजरायलका ‘अलिया एन्ड इन्टिग्रेशन’ (बसाइँसराइ तथा समायोजन) मन्त्री ओफिर सोफरले सरकारको बैठकमा फ्रान्समा भइरहेका दङ्गाहरूलाई दृष्टिगत गर्दै ठुलो सङ्ख्यामा आउन सक्ने यहुदीहरूलाई पुनर्र्स्थापना तथा बसोबास गराउने एकीकृत योजना तयार गर्नुपर्ने बताएका छन्।
यस्तै, सेटलमेन्ट्स (बस्ती) मन्त्री ओरिट स्ट्रोकले फ्रान्समा यहुदीहरू सडकमा निस्कनसमेत डराइरहेको र उनीहरूमाथि आक्रमण वा क्षति पुर्याउने प्रयास हुन सक्ने गम्भीर आशङ्का व्यक्त गरेकी छन्। यसपश्चात् प्रधानमन्त्री नेतान्याहूले मन्त्री सोफर, अर्थमन्त्री बेजेलेल स्मोट्रिच र डायस्पोरा (प्रवासी) मन्त्री अमिचाई चिकलीलाई सम्मिलित गराई संयुक्त योजना तयार पार्न निर्देशन दिएका छन्।
इजरायली रिपोर्टहरूका अनुसार, यसै वर्षको सुरुआतदेखि हालसम्म करिब ४ हजार फ्रान्सेली यहुदीहरू इजरायल पुगिसकेका छन्। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा करिब ४० प्रतिशतले बढी हो। फ्रान्समा बढ्दो हिंसाका बिच इजरायलले फ्रान्सबाट यहुदी जनसङ्ख्याको बसाइँसराइ अझ तीव्र हुन सक्ने आशङ्का गरेको छ।
फ्रान्समा गत हप्ता राजधानी पेरिसबाट सुरु भएको विद्यार्थीहरूको प्रदर्शन अहिले मार्सेई, नान्तेस र मोम्पेलिएलगायतका धेरै ठुला सहरहरूमा फैलिसकेको छ। विद्यार्थीहरू शिक्षा प्रणालीमा शिक्षकहरूको कमी, कक्षाकोठामा अत्याधिक भिड र जीर्ण विद्यालय भवनहरूलाई लिएर प्रदर्शनमा उत्रिएका हुन्।
यद्यपि, यी प्रदर्शनहरू अब उग्र र हिंसात्मक बन्दै गएका छन्। फ्रान्सेली शिक्षा मन्त्रालयका अनुसार करिब २४ वटा विद्यालयहरूमा आगजनी वा तोडफोड तथा लुटपाट भएको छ भने शिक्षा क्षेत्रसँग सम्बद्ध ७८ जना कर्मचारी घाइते भएका छन्। न्याय मन्त्रालयका अनुसार देशका करिब ३,७०० विद्यालयहरूमध्ये ७३५ वटा कुनै न कुनै रूपमा प्रभावित भएका छन्।
पक्राउ पर्नेहरूको सङ्ख्या पनि लगातार बढिरहेको छ। रिपोर्टहरूका अनुसार पक्राउ परेकाहरूमा करिब ८५ प्रतिशत नाबालिग (किशोर-किशोरी) रहेका छन्। फ्रान्सका शिक्षा मन्त्रीले केही विद्यालयहरूमा सुरक्षाको अवस्था यति नाजुक बनेको छ कि सामान्य पठनपाठनसमेत प्रभावित भइरहेको बताएका छन्। फ्रान्सको यही बिग्रँदो वातावरणका बिच इजरायल अब त्यहाँबाट आउन सक्ने सम्भावित ठुलो यहुदी प्रवासका लागि अग्रिम तयारीमा जुटेको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment