निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

अशोक घिमिरे / रासस
२२ असोज २०८३ ७:३९
28
Shares

काठमाडाैं।निजी इन्टरनेट सेवा प्रदायकहरूले सुपथ मूल्यका प्याकेजहरू बन्द गरिरहँदा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले भने ग्राहकलाई उपलब्ध गराइरहेका सस्ता तथा सर्वसुलभ प्याकेजहरू निरन्तर रूपमा सञ्चालन गरिरहने जनाएको छ।

टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार अहिले मूल्य बढाउने कुनै सोच छैन र कम्पनीले ग्राहकलाई उपलब्ध गराएका प्याकेजहरू निकै सर्वसुलभ दरका छन्। अन्य सेवा प्रदायकको तुलनामा टेलिकमले सुपथ मूल्यमा वार्षिक र दुई वर्षको इन्टरनेट प्याकेज बिक्री गरिरहेको छ।

फाइबर इन्टरनेट प्याकेज खरिद गर्दा ग्राहकले मोबाइलमा दैनिक ६०० एमबीदेखि एक हजार एमबीसम्म डाटा निःशुल्क पाउँदै आएका छन्। टेलिकमले एक महिने र तीन महिने प्याकेजहरू पनि सञ्चालनमा राखेको छ।

ग्राहकले पहिलेभन्दा बढी नै ब्यान्डविथ पाउने र बिलिङको पाटो पनि पारदर्शी रहेको छ। एकैचोटी दुई वर्षको प्याकेज खरिद गर्दा एक वर्षको प्याकेजमा पाउने सुविधामा झन्डै १५ प्रतिशतसम्म सहुलियत उपलब्ध गराइएको छ।

हाल टेलिकमले घरायसी ग्राहकका लागि एक वर्षको ५० एमबिपिएस इन्टरनेट रु आठ हजार ४९९ मा र दुई वर्षका लागि रु १४ हजार ९९९ मा उपलब्ध गराइरहेको छ। वार्षिक भुक्तानीमा दैनिक ६०० एमबी मोबाइल डाटा निःशुल्क पाइन्छ।

यसैगरी, ७५ एमबिपिएसका लागि वार्षिक रु १० हजार ४९९, १०० एमबिपिएसका लागि रु ११ हजार ४९९, १५० एमबिपिएसका लागि रु १२ हजार ९९९ र २०० एमबिपिएसका लागि रु १६ हजार ४९९ शुल्क तोकिएको छ। गत साउन मसान्तसम्म टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकको सङ्ख्या चार लाख दोस्रो हजार ११० पुगेको छ।

इन्टरनेट जडान र मर्मतसम्भारलाई थप व्यवस्थित बनाइएको छ। जडानका लागि कार्यालय धाउनुनपर्ने गरी सिधै १९८ मा फोन गरेर माग दर्ता गर्न सकिन्छ भने सार्वजनिक बिदा तथा चाडपर्वमा पनि काउन्टरहरू खुला राखिएका छन्।

हाल टेलिकमको फाइबर सेवा ७७ जिल्लाका झण्डै ४०० पालिका र पालिकाका केन्द्रहरूमा पुगिसकेको छ। राष्ट्रिय आवश्यकताका आधारमा लाभ र लागत नहेरी दुर्गम तथा अतिदुर्गम क्षेत्रमा सेवा विस्तार भइरहेको छ र फाइबर नपुगेका स्थानमा ब्रोडव्याण्ड इन्टरनेट उपलब्ध गराइएको छ।

टेलिकमले एउटै तारबाट उच्च गतिको इन्टरनेट, टेलिभिजन, टेलिफोन र मोबाइल डाटा चलाउन सकिने गरी ‘थ्री प्लस वान’ सेवा प्रदान गर्दै आएको छ। यसै क्रममा असोज १५ गतेदेखि एन्ड्रोइड स्मार्ट टिभी प्रयोगकर्ताका लागि ‘सेट-टप बक्स’बिना नै सेवा लिन सकिने गरी भर्चुअल सेट-टप बक्स (गुगल प्लेस्टोरमा ‘स्मार्ट एनटीटिभी’ एप) सञ्चालनमा ल्याएको छ।

आगामी दिनमा सबै स्मार्ट टिभीमा यो सेवा उपलब्ध गराउने तयारी भइरहेको छ। भर्चुअल सेट-टप बक्ससहितको नयाँ प्याकेज खरिद गर्दा ग्राहकले रु एक हजार छूट पाउने व्यवस्था गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *