अनधिकृत रूपमा बढी भाडा लिए कडा कारबाही गर्ने बुद्ध एयरको चेतावनी

डिसी नेपाल
२२ असोज २०८३ १७:४८
8
Shares

काठमाडौँ। सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममा फोटोसप र एआई को प्रयोग गरी भ्रामक स्क्रिनसटमार्फत हवाई भाडाबारे भ्रम फैलाइएको भन्दै बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्ति जारी गर्दै बुद्ध एयरले विशेष गरी काठमाडौँ-धनगढीको एकतर्फी उडानमा न्यूनतम भाडादर रु. १०,८०० मै टिकट उपलब्ध गराउँदै आएको स्पष्ट पारेको छ। न्यूनतम भाडादरमै टिकट बिक्री गरिएकाले अधिकांश दिनका उडानका टिकटहरू बिक्री भइसकेको कम्पनीको भनाइ छ।

विपद्का कारण राजमार्गमा क्षति पुगी सडक यातायात अवरुद्ध भएको अवस्थामा यात्रुहरूलाई राहत दिन दसैँ र तिहारसम्मै न्यूनतम भाडादर कायम राख्ने निर्णय गरी सोहीअनुसार कार्यान्वयन भइरहेको एयरलाइन्सले जनाएको छ।

कम्पनीका आधिकारिक बिक्री माध्यमबाहेक कुनै व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यमले अनधिकृत रूपमा बढी भाडा लिएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही अघि बढाउने बुद्ध एयरले स्पष्ट पारेको छ।

सामाजिक सञ्जालका भ्रामक स्क्रिनसटको पछि नलाग्न आग्रह गर्दै बुद्ध एयरले आधिकारिक वेबसाइट, मोबाइल एप वा आधिकारिक बिक्री केन्द्रबाट मात्रै भाडादरबारे जानकारी लिन अनुरोध गरेको छ। हाल काठमाडौँ भित्रिने यात्रुको संख्या कम रहेकाले उनीहरूका लागि प्रोमोकोडमार्फत विशेष अफरहरूसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *