विपिन कार्की र मेडिसिटी विवाद: उपचार खर्च र रोग पहिचानलाई लिएर अस्पतालको आपत्ति

डिसी नेपाल
२२ असोज २०८३ ९:५९
852
Shares

काठमाडौं। अभिनेता विपिन कार्कीले आफ्नी जेठी छोरीको उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा महँगा परीक्षण गरिए पनि रोग पत्ता नलागेको र लाखौँ रुपैयाँ खर्च भएको भनी दिएको अभिव्यक्तिप्रति अस्पतालले आपत्ति जनाएको छ।

कार्कीले हालै एक अन्तर्वार्ताका क्रममा छोरी गम्भीर बिरामी पर्दा मेडिसिटी लगिएको र त्यहाँ पटक-पटक महँगा परीक्षण गराउँदा पनि सुरुमा ‘भाइरल ज्वरो’ मात्रै भनिएको दाबी गरेका थिए।

पछि अर्का चिकित्सकको सुझावका आधारमा बालरोग विशेषज्ञ डा. धर्मागत भट्टराईकहाँ पुगेपछि मात्र छोरीमा ‘जुभेनाइल डर्माटोमायोसाइटिस’ (जेडीएम) नामको दुर्लभ अटोइम्युन रोग पहिचान भई स्वास्थ्यमा सुधार आएको उनले बताएका थिए।

कार्कीको यो अनुभव सार्वजनिक भएपछि मेडिसिटी अस्पतालले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको छ। अस्पतालले बालिकालाई पटक-पटक भर्ना गरिएको र लाखौँ रुपैयाँको बिल उठेको भन्ने दाबीलाई पूर्णतः तथ्यहीन र निराधार भनेको छ।

अस्पतालको आधिकारिक अभिलेख अनुसार बालिकालाई दुई पटक मात्रै अल्पकालीन परामर्श र उपचारका लागि ल्याइएको तथा दुवै पटकको कुल खर्च लाखौँमा नभई हजारौँमा मात्र सीमित रहेको दाबी गरिएको छ।

साथै, केही जटिल चिकित्सकीय अवस्थामा तत्काल अन्तिम निदान हुन नसक्ने र त्यसका लागि निश्चित समयसम्म गहन निगरानी तथा क्लिनिकल मूल्यांकन आवश्यक पर्ने अस्पतालको भनाइ छ।

प्रमाणविहीन र अपूर्ण अभिव्यक्तिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाप्रतिको जनविश्वासमा असर पार्ने भन्दै अस्पतालले तथ्यपरक सूचनाका आधारमा मात्र अभिव्यक्ति दिन आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *