पोखरामा स्कुल बस दुर्घटना: ५ जनाको मृत्यु, ४ जनाको पहिचान खुल्यो (घाइतेको नामावलीसहित)
काठमाडौं। कास्कीको पोखरामा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा परी मृत्यु भएका पाँच जनामध्ये चार जनाको पहिचान खुलेको छ।
पहिचान खुल्नेहरूमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीया सुवेच्छा तिवारी रहेका छन्। दुर्घटनामा ज्यान गुमाएकी अन्दाजी १५ वर्षीया एक किशोरीको भने पहिचान खुल्न बाँकी रहेको छ।
पोखरा महानगरपालिका-२८ माझथानाबाट विद्यार्थी लिएर फर्किंदै गरेको शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस बिहान ओख्लेभीर भन्ने स्थानमा दुर्घटनामा परेको थियो। दुर्घटनालगत्तै उद्धार गरी घाइते तथा प्रभावितहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) पुर्याइएको थियो।
अस्पतालले जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार अस्पताल ल्याइएका कुल १७ जनामध्ये पाँच जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए। बाँकी १२ जना घाइतेको हाल उपचार भइरहेको छ, जसमध्ये १६ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर रहेकाले सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।
अन्य घाइतेहरूमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री, १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङ रहेका छन्। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment