धादिङमा ग्यास बुलेट दुर्घटना: ग्यास चुहावटको जोखिमले सडक बन्द

डिसी नेपाल
२३ असोज २०८३ १७:४७
16
Shares

धादिङ। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको एक भारतीय ग्यास बुलेट धादिङको गल्छीमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनाका कारण पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीका अनुसार धादिङको गल्छी गाउँपालिका-७ स्थित मच्छेडी खोला नजिकै चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको एचआर ३८ एएल ३३६७ नम्बरको भारतीय ग्यास बुलेट अनियन्त्रित भई सडकमा पल्टिएको हो।

दुर्घटनामा परी बुलेटका चालक घाइते भएका छन्। घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

ग्यास लिकेजको जोखिम र सडक खुलाउने प्रयास

सडकमै बुलेट पल्टिएपछि सम्भावित ग्यास लिकेज (चुहावट) वा आगलागीको जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले सो क्षेत्रमा सवारी साधनको आवागमन पूर्ण रूपमा रोकेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गल्छीको टोली घटनास्थलमा पुगी उद्धार कार्यका साथै बुलेट हटाउने पहल गरिरहेको छ। एलपीजी  ग्यास बुलेट निकै भारी र प्रज्वलनशील पदार्थ बोकेको हुने भएकाले प्राविधिक सावधानी अपनाएर क्रेनको सहायताले हटाउने तयारी भइरहेको छ।

सडक पूर्ण रूपमा ठप्प हुँदा काठमाडौं भित्रिने र बाहिरिने हजारौं सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। प्रहरीले ग्यास चुहावट नभएको निश्चित गरेपछि र बुलेटलाई सडकबाट पन्छाएपछि मात्र यातायात सुचारु गरिने जनाएको छ। साथै, अत्यावश्यक काममा निस्किएका यात्रु तथा सवारी चालकहरूलाई धैर्यता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *