दोहाको मरुभूमिमा मानवीयताको नयाँ मानक: पुरानो रेकर्ड तोड्दै १५२ नेपालीद्वारा रक्तदान

सुरेश भट्ट आश्रिन
२४ असोज २०८३ ७:५३
12
Shares

दोहा, कतार।  रक्तदान जीवनदान हो- तर जब यसमा सामाजिक सहकार्य, राजनीतिक सौहार्दता र विशाल ऐक्यबद्धता मिसिन्छ, तब यो केवल एउटा कार्यक्रम मात्र रहँदैन, एउटा ‘इतिहास’ बन्छ।

कतारको दोहास्थित प्रसिद्ध हमाद अस्पताल परिसरमा शुक्रबार त्यस्तै एउटा अभूतपूर्व दृश्य देखिएको थियो। अवसर थियो— प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारद्वारा आयोजित पहिलो ऐतिहासिक वृहत् रक्तदान कार्यक्रम।

बिहानैदेखि हमाद अस्पतालको ‘ब्लड डोनर सेन्टर’ मा नेपाली राष्ट्रिय झण्डा, मुस्कानसहितका स्वयंसेवक र रक्तदानका लागि झन्डै ५ सय लामबद्ध युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। दिनभरिको निरन्तर खटाइपछि जब अन्तिम नतिजा सार्वजनिक भयो, कतारस्थित नेपाली समुदायमा खुसीको लहर छायो। कुल १५२ जनाले रक्तदान गर्दै कतारको नेपाली इतिहासमै हालसम्मकै सर्वाधिक रक्तदाताको नयाँ कीर्तिमान कायम गरे।

यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कतारले १४३ जनाको सहभागितामा रक्तदान गराएर उच्च रेकर्ड राखेको थियो। प्रवासी नेपाली मञ्चले आफ्नो पहिलो प्रयासमै उक्त पुरानो अभिलेखलाई तोड्दै कतारमा नेपाली समाजको संगोठनात्मक क्षमता र सामाजिक दायित्वको नयाँ मानक खडा गरिदिएको छ।

नेकपा (एमाले) को प्रवासस्थित भ्रातृ संगठनका रूपमा चिनिने मञ्चले यस कार्यक्रममार्फत राजनीतिक आस्थाभन्दा माथि उठेर विशुद्ध मानवीय सेवाको सन्देश दिएको छ। कतारमा क्रियाशील वैचारिक, क्षेत्रीय, जातीय तथा सामाजिक संघ-संस्थाका प्रमुख एवं प्रतिनिधिहरू सहित करिब ५०० जनाको बाक्लो उपस्थिति कार्यक्रमको अर्को ठूलो आकर्षण रहेको थियो।

नेपालबाट रोजगारी र रोजीरोटीका क्रममा कतार पुगेका नेपालीसँगै अन्य देशका विदेशी नागरिकहरूले समेत रक्तदान गर्दै यो अभियान कुनै धर्म, जाति वा राष्ट्रियतामा सीमित नहुने सन्देश दिए। सहभागी सबै रक्तदाताहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमको सुरुवात नेपाली रक्तदाता संघ कतारका कार्यवाहक अध्यक्ष सन्तोष पौडेलले स्वयं रक्तदान गरेर गरेका थिए भने मञ्च कतारका सचिव रघुनाथ शर्माले रक्तदान गरेसँगै कार्यक्रमको औपचारिक समापन भएको थियो।

मञ्चका अध्यक्ष अफसर अलि खानले कतारमा रहेका सबै नेपालीबीच भाइचारा, सद्भाव र आपसी समन्वय कायम राख्न मञ्च सधैँ तत्पर रहने प्रतिबद्धता जनाउँदै हमाद अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी एवं सहयोगीहरूप्रति आभार व्यक्त गरे।

कतार सरकारले मानवीय सेवामा नेपाली समुदायले देखाउँदै आएको सक्रियतालाई सधैँ प्रशंसा गर्दै आएको छ। हमाद अस्पतालको ब्लड बैंकमा दैनिक रूपमा चाहिने रगतको माग पूर्ति गर्न यो १५२ युनिट रगतले ठूलो सहयोग पुर्‍याउने विश्वास गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *