बुढीगण्डकी करिडोरमा बाढीले विद्युत् प्रणालीमा क्षति, आरुघाट र भीमसेन थापासहितका क्षेत्रमा सेवा पुनः सञ्चालन
काठमाडौं। बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको भीषण बाढीका कारण गोरखा र धादिङ जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् वितरण प्रणाली र जलविद्युत् आयोजनाहरूमा व्यापक क्षति पुगेको छ।
बाढीका कारण ३४१ मेगावाट क्षमताको टाइम्स इनर्जी प्रालि, २४.५ मेगावाटको दोभान खोला, ३०.५९ मेगावाटको यारु खोला र १६ मेगावाटको माछा खोला लगायतका जलविद्युत् आयोजनाहरू प्रत्यक्ष प्रभावित भएका छन्। बाढीले आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थल जोड्ने पुलहरू बगाएर ठूलो नोक्सानी पुर्याएको छ।
विद्युत् वितरण प्रणालीतर्फ गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेज (एचटी) पोल ढलेका छन् भने सोती, आर्खेत तथा आरुघाट बजार क्षेत्रका वितरण लाइनका पोलहरूमा पनि क्षति पुगेको छ। यता धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ स्थित स्याउली बजार क्षेत्रमा न्यून भोल्टेज (एलटी) का ६ वटा पोल बाढीले ढालेको छ।
प्रतिकूल अवस्थाका बाबजुद प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गराउन तीव्रता दिइएको छ। मर्मत सम्भारपछि भीमसेन थापा गाउँपालिका वडा नं. २, ३ र ४ मा विद्युत् सेवा सुचारु भइसकेको छ। यसका साथै आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा पनि विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ।
धार्चे गाउँपालिकाका प्रभावित बस्तीहरूमा पुग्ने पहुँच सडक नै बाढीले क्षति पुर्याएकाले त्यहाँ विद्युत् सेवा पुनः सञ्चालन गर्न भने केही चुनौती खडा भएको छ।
यद्यपि सडक सञ्जाल सञ्चालनमा आउनासाथ प्राविधिक टोली खटाएर अवरुद्ध विद्युत् सेवा शीघ्र सञ्चालन गर्ने तयारी भइरहेको छ र प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनाका लागि सम्बन्धित निकायहरू निरन्तर जुटिरहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment