डिटी फेस्ट २०२६ भव्य रूपमा सम्पन्न: भर्जिनियाको एसबर्नमा झन्डै १० हजार सहभागी

डिसी नेपाल
२६ असोज २०८३ ११:४१

एसबर्न, भर्जिनिया । अमेरिकाको भर्जिनियास्थित एसबर्नमा आयोजना गरिएको ‘डिटी फेस्ट २०२६’ भव्यताका साथ सम्पन्न भएको छ। नेपालीहरूको महान् पर्व बडादसैँ तथा तिहारको अवसरमा आयोजित उक्त सांस्कृतिक उत्सवमा झन्डै १० हजार नेपाली तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो।

मध्यान्ह १२:०० बजेबाट सर्वसाधारणका लागि खुला गरिएको कार्यक्रम स्थलमा अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। फेस्टिभलमा राखिएका विभिन्न व्यापारिक तथा सांस्कृतिक स्टलहरूमध्ये नेपाली दूतावास को विशेष उपस्थिति रहेको थियो। साथै, नेवा संस्कृति झल्किने नेवा रथ प्रदर्शन र परम्परागत ‘पुलु किसि’ (हात्ती नृत्य) प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेका थिए। सहभागीहरूले दसैँ-तिहारको झल्को दिने गरी चङ्गा उडाउने तथा क्यारमबोर्ड खेलेर मनोरञ्जन लिएका थिए।

अपराह्न १:०० बजेदेखि औपचारिक रूपमा सुरु भएको मञ्चीय कार्यक्रममा बालबालिकाहरूको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। साङ्गीतिक कार्यक्रम सुरु हुनुअघि आयोजना गरिएको मःम खाने प्रतियोगिताले दर्शकहरूमाझ थप उत्साह थपेको थियो। बालबालिकाका लागि विशेष रूपमा प्रस्तुत गरिएको ‘गोरिल्ला डान्स’ लाई सबै उमेर समूहका दर्शकहरूले निकै रुचाएका थिए।

साँझ आयोजित साङ्गीतिक कन्सर्टमा नेपाली चर्चित कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए: मोक्ष मन्त्र ब्यान्डले आफ्नो ऊर्जावान् प्रस्तुतिबाट कन्सर्टको सुरुआत गरेको थियो। चर्चित गायिका समीक्षा अधिकारीले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई नचाएकी थिइन्।

गायक शिव परियारले आफ्ना मीठा तथा कर्णप्रिय सुगम संगीत र शक्तिशाली गायकीले दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए। कार्यक्रमको अन्त्यमा चर्चित रक ब्यान्ड मुक्ति एन्ड रिभाइभलले आफ्नो धमाकेदार प्रस्तुतिमार्फत फेस्टिभललाई भव्यताका साथ समापन गरेको थियो।

दिनभर मौसम सफा र सुहाउँदो रहेकाले सहभागीहरूले कुनै बाधाविना उत्सवको पूर्ण रूपमा आनन्द लिएका थिए। यस फेस्टिभलले अमेरिकामा नेपाली कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *