ओमानको तटमा तेल ट्याङ्करमाथि ड्रोन प्रहार, ९ जना भारतीय नाविकको जीवितै उद्धार, २ जना अझै बेपत्ता
काठमाडौं । ओमानको तट नजिकै ‘एमटी पेट्रो डल्फिन’ नामको तेल ट्याङ्करमाथि ड्रोन आक्रमण भएपछि त्यसमा सवार भारतीय नाविकहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ। सो जहाजमा ११ जना भारतीय नाविकहरू सवार थिए, जसमध्ये ९ जनालाई सकुशल उद्धार गरिएको छ भने २ जना अझै बेपत्ता रहेका छन्।
भारतका केन्द्रीय बन्दरगाह, नौवाहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले अक्टोबर ११ मा ओमानको सोहार एन्करेज नजिकै ट्याङ्करमाथि ड्रोन प्रहार भएको जानकारी दिएका हुन्।
स्थानीय तटरक्षक बल र उद्धार टोलीले ९ जना भारतीय नाविकहरूलाई सुरक्षित रूपमा बाहिर निकालेका छन्। बेपत्ता रहेका बाँकी २ जना नाविकको खोजीका लागि ओमानको समुद्री क्षेत्रमा व्यापक खोजी अभियान जारी छ।
मन्त्री सोनोवालका अनुसार भारतीय अधिकारीहरूले ओमानका सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रहेर खोजी कार्यमा सहजीकरण गरिरहेका छन्। ओमानस्थित भारतीय दूतावासले पनि घटनाको प्रत्यक्ष अनुगमन गरिरहेको छ।
खाडी क्षेत्रका रणनीतिक समुद्री मार्गहरू, विशेष गरी होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजहरूको सुरक्षालाई लिएर तनाव चरम बिन्दुमा पुगेको छ।
सोही दिन इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ को नौसेनाले एक भिडियो सार्वजनिक गर्दै होर्मुजबाट गुज्रँदै गरेको एउटा ठुलो तेल ट्याङ्कर समुद्री बारुदी सुरुङ सँग ठोक्किएर भीषण विस्फोट र आगलागी भएको जनाएको छ।
आइआरजीसीले सो जहाजले आफ्नो लोकेसन र नेभिगेसन सिस्टम बन्द गरेर प्रतिबन्धित मार्गबाट अघि बढ्न खोजेको दाबी गरेको छ। ईरानी जलसेनाले यस क्षेत्रमा आफ्नो नेभिगेसन ट्र्याकिङ सिस्टम बन्द गर्ने कुनै पनि जहाजलाई ‘शत्रुतापूर्ण लक्ष्य’ मानेर कारबाही गरिने चेतावनी दिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment