‘ए फूल ए जुन’ मार्फत दर्शकमाझ आइन् नीता आचार्य, शिल्पासँग देखियो नृत्य
काठमाडौं । अमेरिकामा बस्दै आएकी गायिका नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ को भिडियो सार्वजनिक भएको छ। बागलुङको ढोरपाटनमा छायांकन गरिएको गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेलसँगै गायिका आचार्य पनि अभिनयमा देखिएकी छन्।
गीतमा डा। कृष्णहरि बरालको शब्द र एनबी जनकपुरीको संगीत रहेको छ। अजय रेग्मीले छायांकन गरेको भिडियोमा प्रवीण भट्टको सम्पादन रहेको छ। पछिल्लो पुस्ताका चर्चित निर्देशक तथा कोरियोग्राफर केशवराज भट्टले भिडियोको निर्देशन गरेका हुन्। निर्देशक भट्टले अहिलेसम्म करिब ५ सय बढी गीतका भिडियो निर्देशन गरिसकेका छन्। उनका निर्देशनमा बनेका केही गीतले दर्शक तथा श्रोतामाझ राम्रो चर्चा पाएका छन्।
नीता आचार्यले यसअघि ‘जिन्दगी’, ‘सँगै जिउने हो’, ‘भए साथमा नभए यादमा’, ‘झिमझिम परेली’, ‘चुपचाप’, ‘गरिदेऊ बिदा’ र ‘मनको धोको’ लगायतका गीतमा स्वर दिइसकेकी छन्। पोखरामा जन्मिएकी नीता पछिल्लो समय अमेरिकामा बस्दै आए पनि नेपाली गीतसंगीतमा निरन्तर सक्रिय छिन्।
सानैदेखि गायनमा रुचि राख्ने नीता सुरुमा आधुनिक गीत गाउन बढी मन पराउँथिन्। पछिल्लो समय भने लोकआधुनिक गीतमा पनि उनको विशेष रुचि रहेको छ। हाल नेपालमा रहेकी उनले यस अवधिमा केही नयाँ गीत सार्वजनिक गरिरहेकी छन्। गीतसंगीतलाई जीवनको अभिन्न हिस्सा मान्ने नीता भन्छिन्, ‘मलाई के लाग्छ भने संगीत जीवन हो, जीवन नै संगीत हो। गीतसंगीतबिना जीवन बाँच्छ जस्तो लाग्दैन मलाई। गीतसंगीत जीवनको आधार हो।’
उनका अनुसार संगीतले मानिसलाई आत्मिक रूपमा शान्त बनाउनुका साथै औषधि र ध्यानजस्तै काम गर्न सक्छ। आफूभित्र रमाउने र मनलाई एकाग्र बनाउने साधनाका रूपमा पनि उनले संगीतलाई लिने गरेकी छन्।
‘ए फूल ए जुन’ को भिडियो गायिका नीता आचार्यको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताको ध्यान आकर्षित गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment