नेपाल टेलिकमको ऐतिहासिक कदम: अब अनलाइन आवेदनबाटै घरदैलोमा प्राप्त हुने ‘हुलाक सिम’ सेवा सुरु
काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि काउन्टरमा लाइन बस्न नपर्ने गरी अनलाइन आवेदन दिएर घरदैलोमै नयाँ प्रिपेड फिजिकल सिमकार्ड प्राप्त गर्न सकिने ‘हुलाक सिम सेवा’ सुरु गरेको छ।
सूचना तथा सञ्चार मन्त्री माननीय डा. विक्रम तिमिल्सिनाले एक विशेष कार्यक्रमका बीच सो सेवाको शुभारम्भ गरे। सो अवसरमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र हुलाक सेवा विभागकी महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले पहिलो ग्राहकको रूपमा मन्त्री तिमिल्सिनालाई सिम हस्तान्तरण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सानो तर महत्वपूर्ण सेवाको सुरुवातको रूपमा हुलाक सिम सेवा वितरण भएको र पहिलो ऐतिहासिक ग्राहक बन्न पाएकोमा गर्व व्यक्त गरे। उनले यस सेवाको दायरा बढाउन निर्देशन दिँदै आगामी दिनमा बाँकी सेवाहरू समेत पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराई जनतालाई सहज रूपमा सेवा पुर्याउने सरकारको कदममा सहयोग पुर्याउन सकिने कुरामा जोड दिए।
कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलले हालको पुस्ताले अपेक्षा गरेको प्रविधि उपलब्ध गराउन सकेकोमा खुसी व्यक्त गरे। उनले सरकारी सेवा हुलाकमार्फत उपलब्ध गराउने सरकारको कदममा यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै दुई संस्था बीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्न निर्देशन दिए।
यस्तै, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले हाल कम्पनीले कार्यालय र डिलरहरूमार्फत सेवा उपलब्ध गराइरहेकोमा अब सेवाग्राहीको घर-घरसम्म पुग्न सहज भएको र यो कम्पनीका लागि एक कोशेढुंगा भएको बताइन्। उनले यसबाट सुगम क्षेत्र मात्र नभई सडकको पहुँच नभएका ग्रामीण क्षेत्रमा समेत सेवा उपलब्ध गराउन सकिने र आगामी दिनमा अन्य सेवाहरू समेत ग्राहकको घरदैलोमै पुर्याउन आवश्यक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
हुलाक सेवा विभागकी महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले ग्रामीण क्षेत्रमा नेपाल टेलिकमका सेवा उपलब्ध गराउन हुलाकको भूमिका महत्वपूर्ण हुने बताउँदै दुई संस्थाबीच आगामी दिनमा अन्य सेवा वितरणका लागि समेत सहकार्य गर्न सकिने उल्लेख गरिन्।
यो सेवा प्राप्त गर्नका लागि ग्राहकले नेपाल टेलिकमको वेबसाइटमा रहेको ‘पोस्टल सिम पोर्टल’ मा गई व्यक्तिगत विवरण, फोटो तथा नागरिकता वा राहदानीको विवरण अपलोड गरेर आवेदन दिनुपर्नेछ। टेलिकमबाट कागजात छानबिन स्वीकृत भएपछि सिम शुल्क ९० रुपैयाँ र हुलाक डेलिभरी शुल्क ७० रुपैयाँ गरी कुल १६० रुपैयाँ डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ। भुक्तानी सम्पन्न भएपछि प्राप्त हुने एक्टिभेसन कोड सुरक्षित राख्नुपर्छ। हुलाक कर्मचारीले घरमै पुर्याइदिएको सिम प्राप्त भएपछि अनलाइन पोर्टलमा एक्टिभेसन कोड राखेर वा *१४१४# डायल गरेर सिम सक्रिय बनाउन सकिन्छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment