दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

डिसी नेपाल
२९ असोज २०८३ ९:३३
4
Shares

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२ हजार क्विन्टल चिनी मौज्दात रहेको र आवश्यकताअनुसार थप आयात गर्ने तयारी भइरहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताए ।

उनका अनुसार सरकारले उपलब्ध गराएको चिनी काठमाडौं उपत्यकामा प्रतिकिलो १०९ रुपैयाँ र उपत्यकाबाहिर ११० रुपैयाँमा बिक्री भइरहेको छ । चाडपर्वमा माग बढे पनि उपभोक्तालाई चिनीको अभाव हुन नदिने गरी मौज्दात र वितरण व्यवस्थापन गरिएको मिश्रले बताए ।

सरकारले उपलब्ध गराएको २५ हजार क्विन्टल चिनीमध्ये १० हजार क्विन्टल आइसकेको उनले जानकारी दिए । बाँकी १५ हजार क्विन्टल आवश्यकताअनुसार ल्याउने विषयमा तयारी भइरहेको छ । थप चिनी आयात गर्ने विषयमा अध्ययन भइरहेको भए पनि प्रक्रिया अन्तिम चरणमा नपुगेको उनले बताए ।

कम्पनीले मौज्दात रहेको चिनी खुद्रा बिक्रीका साथै डिलर, सहकारी र साझेदार संस्थामार्फत वितरण गरिरहेको छ । नेपालगञ्जमा भारतबाट सरकारीस्तरको समझदारी (जीटूजी) अन्तर्गत ल्याइएको चिनीसमेत मौज्दात राखिएको मिश्रले बताए ।

खाद्य कम्पनीले यस वर्ष साउन २८ देखि नै सहुलियत पसल सञ्चालनमा ल्याएको छ । यसअघि चाडपर्वलाई लक्षित गरेर सञ्चालन हुँदै आएका यस्ता पसललाई यस वर्षको बजेटअनुसार वर्षभरि सञ्चालन गर्ने लक्ष्य राखिएको मिश्रले बताए ।

हाल देशका ४४ जिल्लाका १९३ स्थानबाट सहुलियत पसल सञ्चालन भइरहेका छन् । सरकारले उपलब्ध गराएको ३ करोड ५० लाख रुपैयाँमध्ये हालसम्म करिब ७७ लाख रुपैयाँ खर्च भइसकेको छ । कम्पनीका अनुसार उपभोक्तालाई खाद्यान्न तथा अन्य वस्तुमा हालसम्म करिब ७६ लाख रुपैयाँ बराबरको छुट दिइएको छ ।

कम्पनीले उपलब्ध गराएको विवरणअनुसार विभिन्न प्रकारका चामलमा करिब १२ हजार क्विन्टल, फोर्टिफाइड चामलमा २ हजार ८१० क्विन्टल, तेलमा ३४२.४४ क्विन्टल, दाल तथा गेडागुडीमा २५३.६८ क्विन्टल र गहुँमा १२६ क्विन्टल बराबरको बिक्रीमा सहुलियत दिइएको छ । चिनीको बजार मूल्य घटेपछि त्यसमा दिइँदै आएको छुट भने बन्द गरिएको मिश्रले बताए ।

फोर्टिफाइड चामलप्रति उपभोक्ताको प्रतिक्रिया सकारात्मक रहेको उनको भनाइ छ । सहुलियत पसलमार्फत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदा बजार मूल्यको चापबाट उपभोक्तालाई राहत पुग्ने कम्पनीको अपेक्षा छ ।

दशैंका लागि खसीबोका तथा च्यांग्रा ल्याउने विषयमा भने कम्पनीले तत्काल निर्णय गरिसकेको छैन । बाढीपहिरो, सडक अवरोध र मौसमको अनिश्चितताका कारण जीवित पशु ढुवानीमा समस्या हुन सक्ने मिश्रले बताए । सडकमा लामो समय रोकिनुपर्दा पशुको तौल घट्ने तथा तापक्रम र ढुवानीको कठिनाइका कारण बाटोमै मर्ने जोखिम रहने भएकाले तत्काल खरिद तथा ढुवानी प्रक्रिया अघि नबढाइएको उनको भनाइ छ ।

धान खरिदको तयारी

कम्पनीले किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले धान खरिदको तयारी पनि गरिरहेको छ । यसका लागि खरिद विभागले प्रक्रिया अघि बढाइरहेको मिश्रले बताए । कम्पनीको गोदाम क्षमता र स्रोत सीमित भएकाले सबै किसानको धान खरिद गर्न सम्भव नहुने उनको भनाइ छ ।

त्यसैले उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै बजारमा मूल्य स्थिर राख्न सहयोग गर्ने र किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउन कम्पनीले कार्यक्रम तयार गरिरहेको छ ।

कम्पनीले सहुलियत पसलको मौज्दात र कारोबारको विवरण सफ्टवेयरमार्फत अद्यावधिक गर्ने गरेको जनाएको छ । यसबाट अनुगमन गर्ने निकायले कारोबार र मौज्दातको अवस्था प्रत्यक्ष हेर्न सक्ने तथा उपभोक्ताले पनि सहुलियत पसलबाट उपलब्ध वस्तुको लाभ लिन सक्ने मिश्रले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *