अमेरिकामा हिन्दु मन्दिरमा सामूहिक गोलीबारीको षड्यन्त्र रच्ने १९ वर्षीय युवक पक्राउ, भारी हतियार बरामद

डिसी नेपाल
२९ असोज २०८३ १३:५०
240
Shares

काठमाडौं । अमेरिकाको इलिनोय राज्यस्थित पेलेटाइनमा एक धार्मिक स्थलमा सामूहिक गोलीबारी गर्ने धम्की दिएको अभियोगमा प्रहरीले एक १९ वर्षीय युवकलाई गिरफ्तार गरेको छ।

अनुसन्धानका क्रममा प्रहरीले उक्त सम्भावित आक्रमणको मुख्य निशाना इलिनोयको ओरोरा मा रहेको हिन्दु मन्दिर हुन सक्ने आशङ्का व्यक्त गरेको छ।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार माउन्ट प्रोस्पेक्ट प्रहरीले एक व्यक्तिबाट पाएको शङ्कास्पद सन्देशका आधारमा समयमै कारबाही गर्दै सम्भावित ठुलो हमलालाई असफल बनाएको हो।

प्रहरीले शङ्कास्पद सन्देश ट्र्याक गरी अभियुक्तलाई उसको घरबाहिरैबाट नियन्त्रणमा लिएको थियो। अभियुक्तको घरमा लिइएको तलासीका क्रममा प्रहरीले एक राइफल, गोलीले भरिएका धेरै म्यागजिनहरू र सयौँ राउन्ड कारतूसहरू बरामद गरेको छ।

यस घटनालाई लिएर सिकागोस्थित भारतीय महावाणिज्य दूतावासले आधिकारिक वक्तव्य जारी गर्दै अमेरिकी सुरक्षा निकायहरूको द्रुत कारबाहीको प्रशंसा गरेको छ ।

“कान्सुलेटलाई इलिनोयको ओरोरामा रहेको एक धार्मिक स्थललाई निशाना बनाउने असफल प्रयाससँग जोडिएका खबरहरूबारे पूर्ण जानकारी छ। हामी समयमै उचित कारबाही गरी सम्भावित दुर्घटना हुन नदिएकोमा कानुन कार्यान्वयन गर्ने निकायहरूको सराहना गर्दछौँ। हामी त्यहाँस्थित भारतीय समुदायका मानिसहरूसँग निरन्तर सम्पर्कमा छौँ र सम्पूर्ण घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ।”

समयमै प्रहरी कारबाही भएका कारण ठुलो मानवीय क्षति टरेको छ भने घटनापछि क्षेत्रका धार्मिक स्थलहरूमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *