राजकीय जिम्मेवारी छाडेको छ वर्षपछि राजकुमार ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक

डिसी नेपाल
२९ असोज २०८३ १३:५९
4
Shares

लण्डन। राजकीय जिम्मेवारी त्यागेको छ वर्षपछि राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।

मध्य इंल्याान्डको नटिंघममा रहेका तीन परोपकारी संस्थाको भ्रमण गर्दै यो दम्पतीले पुराना सम्बन्ध पुन: जोड्ने र आफ्नो सार्वजनिक पहिचान स्थापित गर्ने प्रयास गरेको छ।

राजा चार्ल्स तृतीयले यो दम्पती राजपरिवारका गैरकार्यरत सदस्य रहेको कुरा स्पष्ट पारिसकेका छन्। राजपरिवारका विशेष सम्बोधनहरू प्रयोग नगर्न र परोपकारी कार्यहरू निजी नागरिकका रूपमा मात्र गर्न दरबारले उनीहरूलाई निर्देशन दिएको थियो।

दम्पतीको उच्च लोकप्रियताका कारण सक्रिय राजपरिवारका सदस्यहरूसँग सञ्चारमाध्यमको ध्यान र जनसमर्थनका लागि प्रतिस्पर्धा हुन सक्ने चिन्ता दरबारका अधिकारीहरूमा रहेको जनाइएको छ।

उनीहरूले भ्रमण गरेका संस्थाहरूमा युवाको सीप विकास गर्ने ‘कम्युनिटी रेकर्डिङ स्टुडियो’, खाद्य सहायता केन्द्र ‘हिम्मा’ र सुविधाबाट वञ्चित युवाहरूलाई खेलकुद तथा शिक्षा उपलब्ध गराउने ‘एपिक पार्टनर्स’ रहेका छन्।

ह्यारी एक दशकभन्दा बढी समयदेखि दुई वटा संस्थासँग आबद्ध रहँदै आएका छन् भने मेघनले सन् २०१८ मा प्रकाशित एक पुस्तकमार्फत हिम्मासँग सहकार्य गरेकी थिइन्।

राजकीय जिम्मेवारी त्यागेर छ वर्षअघि क्यालिफोर्निया सरेका उनीहरूले त्यसपछि नेटफ्लिक्स र स्पोटिफाईसँग व्यावसायिक सम्झौताहरू गरेका थिए। मेघनको मानसिक स्वास्थ्यप्रति दरबारले संवेदनशीलता नदेखाएको तथा राजपरिवारका केही सदस्यहरूले जातीय विभेद गरेको आरोप उनीहरूले लगाएपछि राजपरिवारसँगको सम्बन्ध बिग्रिएको थियो।

यद्यपि, पछिल्ला महिनाहरूमा भने सम्बन्ध सुधारका संकेतहरू देखिएका छन्। ह्यारीले आफ्ना पिता राजा चार्ल्ससँग मेलमिलाप गर्न चाहेको र आफ्ना छोराछोरीले हजुरबुवालाई चिन्ने अवसर पाऊन् भन्ने इच्छा व्यक्त गरेका छन्। सन् २०२४ मा क्यान्सर पत्ता लागेपछि राजा चार्ल्सको हाल उपचार भइरहेको छ।

ह्यारी र मेघन आफ्ना दुई छोराछोरीसहित अक्सफोर्डको पश्चिममा रहेको कोट्सवल्ड्सको ग्रामीण क्षेत्रमा बस्दै आएका छन्। तर, बेलायत फर्किएपछि पनि उनीहरूको सुरक्षा सम्बन्धी विवाद भने कायमै छ।

राजकीय जिम्मेवारी त्यागेपछि हटाइएको सार्वजनिक कोषबाट उपलब्ध हुने प्रहरी सुरक्षा पुनः पाउनुपर्ने माग ह्यारीले गर्दै आएका छन्।

आफ्नो शाही हैसियतका कारण परिवार जोखिममा परेको उनको भनाइ छ। सुरक्षा समस्याकै कारण उनीहरूका छोराछोरीले नयाँ शैक्षिक सत्र सुरु भएको केही दिनमै विद्यालय समेत परिवर्तन गर्नुपरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *