आमाबिनाको पहिलो दशैं : परदेशमा सम्हालिँदै जेठो छोरो
काठमाडौं। नेपालभर दशैंको रौनक छाएको छ। नीलो आकाश, शरदको न्यानो घाम र आँगनमा झरेका पारिजातका फूलले गाउँघर रमाइलो र मखमली बनेको छ।
तर, परदेशको भूमिमा रहेका नेपाली जनसम्पर्क समिति कतारका उपसभापति एवं १५औँ महाधिवेशन प्रतिनिधि ठाकुर कुमार परियारको मन भने आमाबिनाको पहिलो दशैंले अत्यन्तै शून्य बनेको छ।
परिवारको जेठो छोरो भएकाले सबैलाई हिम्मत दिने र घरको जिम्मेवारी सम्हाल्ने दायित्व परियारको काँधमा छ। तर, मनभित्रको गहिरो पीडा र आमाको अभावले उनलाई भित्रभित्रै भावुक बनाएको छ।
यसपालिको दशैंमा आमाको हातको रातो टीका थाप्न, उनको समीप बसेर आशीर्वाद लिन र बाल्यकालका ती आत्मीय क्षणहरू फेरि महसुस गर्न नपाउने यथार्थले उनलाई मर्माहत बनाएको छ।
परदेशको कमाइले परिवारका भौतिक आवश्यकताहरू पूरा गर्न सकिए पनि आमाको ममता र अभाव कहिल्यै पूर्ति हुन नसक्ने परियार बताउँछन्। फोनमा परिवारसँग कुरा गर्दा आफूलाई सम्हाल्ने प्रयास गरे पनि मनले बारम्बार घरको आँगन र आमाको न्यानो काख सम्झिरहने उनले उल्लेख गरेका छन्।
पहिले परदेशमा हुँदा टाढा हुनुको पीडा मात्र हुने गरेकोमा अब कहिल्यै आमालाई भेट्न नपाउने यथार्थले त्यो दूरी झन् गहिरो र कष्टकर बनाएको उनको भनाइ छ।
आमाले सिकाउनुभएको संस्कार, मूल्य-मान्यता र जिम्मेवारी सधैँ आफ्नो साथमा रहने बताउँदै परियारले जेठो छोराका रूपमा परिवारलाई दह्रोसँग सम्हाल्ने र आमाले देखाउनुभएको सत्मार्गमा निरन्तर हिँडिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
संसारका धेरै कठिन जिम्मेवारीहरू निभाउन सके पनि आमाको सामिप्य र अभावसँग सम्झौता गर्न अझै सिक्न नसकेको दुःखेसो पोख्दै उनले यसपालिको दशैंमा निधार खाली भए पनि मनभरि आमाकै अमर सम्झनाहरू साँचिएर रहने बताएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment