मोरङमा गाँजा तस्करी नियन्त्रण गर्न प्रहरीद्वारा गोली प्रहार, दुई भारतीय नागरिक पक्राउ

डिसी नेपाल
३० असोज २०८३ २०:००
12
Shares

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-५ गोविन्दपुरस्थित बक्रा खोला बगरबाट ठूलो परिमाणमा गाँजासहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ।

पक्राउ पर्नेहरूमा भारतको अररिया जिल्ला जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी र सोही जिल्लाको महगा ग्राम पञ्चायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव रहेका छन्। भाग्ने प्रयास गरेपछि प्रहरीले चलाएको गोली लागेर चौधरी घाइते भएका छन्। उनको घुँडामुनी गोली लागेको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक कवित कटवालका अनुसार बिहीबार दिउँसो साढे १ बजेतिर सोही क्षेत्रमा लुकाइछिपाई राखिएको अवस्थामा ८ वटा सेतो बोरामा रहेको २६४.५९ केजी गाँजा बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको थियो। बरामद गाँजाको कुल तौल करिब तीन क्वीन्टल रहेको छ। सोही स्थानबाट पुनः गाँजाको अवैध कारोबार वा ओसारपसार हुन सक्ने आशङ्का लागेपछि इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले रातभर उक्त क्षेत्रमा गस्ती बढाएको थियो।

राति पौने १० बजेको समयमा केही व्यक्तिहरू बाँकी गाँजा बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो। प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरू भारततर्फ भाग्न थालेपछि स्थिति नियन्त्रणमा लिन सुरुमा १ राउन्ड हवाई फायर गरिएको थियो।

त्यसपछि पनि कारोबारीहरू नरोकिएपछि प्रहरीले थप १ राउन्ड लक्षित गोली चलाएको कटवालले जानकारी दिए। मोरङ प्रहरी लागुऔषधको अवैध कारोबार विरुद्ध आक्रामक रूपमा उत्रिएको र विशेष गरी गाँजा तथा ब्राउनसुगर कारोबारीमाथि निगरानी कडा पारिएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *