मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

डिसी नेपाल
१ कार्तिक २०८३ १६:३४
4
Shares
गुल्मी। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताए।
करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुल्मीको मालिका गाउँपालिका–८ स्थित ऐतिहासिक मर्भुङकोट मन्दिरको आज उद्घाटन गर्दै उनले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणसँगै समाजमा सामाजिक सद्भाव कायम गर्नुपर्ने बताए।
महानिरीक्षक कार्कीले धार्मिक पर्यटनको सम्भावना बोकेको मर्भुङकोट क्षेत्रको विकासका लागि सडक पहुँच, खानेपानी, शौचालय र विश्रामस्थललगायत आधारभूत पूर्वाधार निर्माणमा स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा सरोकारवाला निकायबीच समन्वय हुन आवश्यक छ भने।
सो अवसरमा देवीको पूजा गर्ने तर घरपरिवार र समाजमा महिलामाथि अन्याय एवं शोषण गर्ने प्रवृत्ति विरोधाभासपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो। “समाजबाट घरेलु हिंसा, बोक्सीको आरोप, छाउपडी, दाइजो र बालविवाहजस्ता कुप्रथाको अन्त्यगरी महिलाको सम्मान सुनिश्चित गर्नसके मात्र विजयादशमीको सन्देश सार्थक हुन्छ”, महानिरीक्षक कार्कीले भने।
उनले विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक मात्र नभई समाजमा विद्यमान विकृति र कुरीतिविरुद्ध सङ्कल्प गर्ने अवसर भएको बताए।
स्थानीय जनसहभागिताको सहयोगमा उक्त मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमालय केसीले बताए।
मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार मन्दिर पुनर्निर्माणमा कुल ६० लाख रुपैयाँ खर्च भएको छ। निर्माणका लागि ३२४ जना दाताबाट न्यूनतम १०० देखि अधिकतम तीन लाख ३१ हजार १११ रुपैयाँसम्म सहयोग सङ्कलन गरिएको उनले जानकारी दिए।
कार्यक्रममा मन्दिर निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने चन्दादाता तथा निर्माण समितिका पदाधिकारीलाई सम्मान गरिएको थियो। मर्भुङकोट मन्दिर साविकका मर्भुङ, सिर्सेनी, अर्खाबाङ र हवाङ्दी गाउँको साझा ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापना भएको मानिन्छ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *