दशैंमा थारू समुदायको बेग्लै रौनकता: निधारदेखि खुट्टासम्मै सेतो टीका र ‘झोलझरना’को विधि

डिसी नेपाल
२ कार्तिक २०८३ १०:५६
4
Shares

काठमाडौं।  थारू समुदायमा दसैँ पर्व मनाउने आफ्नै पृथक, मौलिक परम्परा र गहिरो सांस्कृतिक अभ्यासहरू रहेका छन्। घटस्थापनापछि विशेष गरी सप्तमीदेखि टीकाको दिनसम्म विभिन्न विधि र विधानअनुसार दसैँ मनाउने थारू समुदायमा सेतो टीका लगाउने, ढिक्री चढाउने, गुरुवा तथा गाउँका अगुवाबाट टीका थाप्ने र पितृहरूलाई श्रद्धापूर्वक सम्झिने विशिष्ट चलन छ।

तर, आधुनिकताको तीव्र प्रभाव र बाह्य संस्कृतिको अतिक्रमणका कारण समुदायका मौलिक नाच, गीत र सांस्कृतिक अभ्यासहरू बिस्तारै ओझेलमा पर्दै र हराउँदै गएकोमा साहित्यकार कृष्णराज सर्वहारीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सर्वहारीले नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीका क्रममा थारू समुदायको दसैँ अन्य समुदायको तुलनामा तीन–चार दिनमै सीमित हुने र यसको आफ्नै मौलिक सांस्कृतिक विशेषता रहेको बताए।

उनका अनुसार थारू समुदायमा सप्तमीको दिनलाई ‘झोलझरना’ भनिन्छ। यस दिन घर लिपपोत गर्ने, सरसफाइ गर्ने र वर्षभरि माकुराले लगाएका जालाहरू पन्छाएर घर सफा बनाउने चलन छ। अष्टमीका दिन भने विशेष प्रकारको ढिक्री बनाएर घरका देवतालाई चढाइन्छ। चामलको पिठोबाट बाफमा पकाएर बनाइने उक्त ढिक्रीको आकार थोसियाजस्तो हुने उनले जानकारी दिए।

उनले भने, ‘अष्टमीको दिन विशेष किसिमको ढिक्री खाने परम्परा छ। त्यो देउतालाई चढाउनुपर्छ। नेवारहरूको योमरीजस्तै हुन्छ, तर दसैँमा चाहिँ थोसियाको आकारको गहनाजस्तो ढिक्री बनाइन्छ।’

त्यस्तै, नवमीको दिनलाई थारू समुदायमा ‘मुर्गा पुजलक दिन’ भनिन्छ। यस दिन बलि दिने परम्परासँगै आफ्ना दिवङ्गत पितृहरूलाई सम्झिने चलन पनि छ। महिलाहरूले घर सरसफाइ गर्दा निस्किएका केही सामग्री र स्थानीय रक्सी लिएर नदी वा खोलामा सेलाउन जाने गरेको सर्वहारीले बताए।

सेतो टीका र शरीरका विभिन्न भागमा लगाउने परम्परा

थारू समुदायको दसैँको अर्को मुख्य र विशिष्ट पहिचान भनेको सेतो टीका हो। अन्य समुदायमा रातो टीका लगाउने प्रचलन बढी भए पनि थारू समुदायमा चामल वा चामलको पिठोमा पानी मिसाएर कुनै पनि रङ नहाली बनाइएको शुद्ध सेतो टीका लगाउने परम्परा रहेको उनले बताए। यद्यपि, अहिले अन्य समुदायको देखासिकीका कारण रातो टीका लगाउने चलन पनि बढ्दै गएको उनको भनाइ छ।

थारू समुदायमा टीका निधारमा मात्रै नभई शरीरका विभिन्न महत्त्वपूर्ण भागहरूमा लगाइदिने चलनसमेत छ। निधारका साथै काँध, घुँडा र दुवै खुट्टाका बुढीऔँलामा टीका लगाइदिने गरिन्छ।

उनले भने, ‘टीका भनेपछि निधारमा मात्रै होइन, शरीरभरि अलिकति लतपतिएन भने टीका लगाएको वास्तविक अनुभूति हुँदैन भन्ने मान्यता छ। टीकाको स्पर्श केवल निधारले मात्रै होइन पूरै शरीरले लिन पाउनुपर्छ, अनि बल्ल टीकाको महत्त्व उजागर हुन्छ भन्ने देखिन्छ।’

टीकाको दिन गाउँको गुरुवा र गाउँका अगुवा अर्थात् महतावा वा बरघरको घरमा पुगेर पनि टीका थाप्ने परम्परा छ। घरका सदस्यहरूले रक्सीको छाँकी, बाबरी फूल र जमरा लिएर गुरुवाको घरमा जाने र आत्मीयताका साथ टीका थाप्ने चलन रहेको उनले बताए। गाउँलाई अनुशासित, व्यवस्थित र सुन्दर बनाउन योगदान गर्ने अगुवाहरूबाट पनि आशीर्वादस्वरूप टीका थाप्ने गरिन्छ।

त्यस्तै, वर्षभरिमा विवाह गरेका नवदुलहाले पहिलो पटक ससुरालीमा टीका थाप्न जाँदा हातेपङ्खा, भाले, गुन्द्रीलगायतका चोखो सामग्रीहरू उपहारका रूपमा लैजाने परम्परालाई थारू भाषामा ‘जेवँरा लगैलक’ भनिन्छ।

सखिया नाच र मौलिक गीत हराउँदै गएकोमा चिन्ता

सर्वहारीले थारू समुदायको दसैँमा गाइने लोकगीत र नाचको सांस्कृतिक महत्त्वबारे पनि प्रकाश पारे। उनका अनुसार दसैँका अवसरमा घर-घर र आँगनमा नाचिने प्रसिद्ध सखिया नाच र परम्परागत गीतहरू पछिल्लो समय हराउँदै गएका छन्। आधुनिक डिस्को नाच, साउन्ड सिस्टम र नयाँ प्रकारका बाजाको बढ्दो प्रभावले गर्दा थारू समुदायको मौलिक सांस्कृतिक अभ्यास ओझेलमा परेको उनको ठम्याइ छ।

‘आधुनिकता आफ्नो ठाउँमा छ, तर नयाँ पुस्ताले सकेसम्म बुढापाकाहरूबाट दसैँमा गाइने राग–हुर सिक्ने र जोगाउने प्रयास गर्नुपर्छ। पुराना पुस्ताका बुढाहरूको लयमा लय मिलाएर संस्कृति अघि बढाउनुपर्छ,’ उनले भने।

थारू समुदायमा महाभारतको कथामा आधारित ‘बर्किमार’ गीत गाउने प्राचीन परम्परा रहेको उल्लेख गर्दै उनले नयाँ पुस्तामा यस्ता ऐतिहासिक गीत सिक्ने र गाउने अभ्यास निरन्तर घट्दै गएको बताए। थारू समुदायका मौलिक लोकगीतहरूमा आफ्नै जीवनदर्शन, इतिहास र जीवनशैली अभिव्यक्त हुने भएकाले तिनको संरक्षण गर्नु अपरिहार्य रहेको उनले जोड दिए।

उनले दसैँको यस सुन्दर सांस्कृतिक पक्षलाई साहित्य र लेखनमा उतार्न पनि सबैमा आग्रह गरे। पुर्खाहरूले कसरी दसैँ मनाउँथे, चाडपर्वका अवसरमा गाउँलाई सुन्दर बनाउन कस्ता रचनात्मक कार्यहरू गरिन्थे र समुदायमा कस्ता भाइचाराका परम्परा थिए भन्ने विषयमा अध्ययन-अनुसन्धान हुनुपर्ने उनको भनाइ छ।

यसै गरी, उनले दसैँका नाममा गरिने विभिन्न औपचारिक कार्यक्रमहरूलाई पनि केवल मनोरञ्जनमा सीमित नराखी अध्ययनमूलक बनाउनुपर्ने बताए। चाडपर्वको सतही व्याख्या गर्नुभन्दा सम्बन्धित संस्कृतिका विषयगत जानकारहरूबाट मौलिक परम्परा, इतिहास र महत्त्वबारे गहिरो जानकारी लिन सके नयाँ पुस्तालाई आफ्नो संस्कृति बुझ्न ठूलो मद्दत पुग्ने उनले उल्लेख गरे।

‘बियर संस्कृति’ र असन्तुलित खानपानप्रति सचेत गराउँदै

सर्वहारीले दसैँका अवसरमा युवा पुस्तामा बढ्दै गएको ‘बियर संस्कृति’ र विकृतिप्रति पनि चिन्ता व्यक्त गरे। थारू समुदायमा पूजाआजाका क्रममा देवतालाई स्थानीय रक्सी चढाउने परम्परा रहेको उल्लेख गर्दै उनले प्रसादका रूपमा थोरै ग्रहण गर्ने सांस्कृतिक अभ्यास र मादक पदार्थको अत्यधिक सेवनबीच ठूलो भिन्नता रहेको प्रस्ट पारे।

‘हामी देउतालाई नै रक्सीको धार दिन्छौँ। तर त्यो स्थानीय रक्सी देवताको प्रसादका रूपमा थोरै मात्र खानुपर्छ। प्रसादका रूपमा एक प्याक लिएर आत्मीय रूपमा रमाउँदा केही बिग्रिँदैन,’ उनले भने।

चाडपर्वका बेला अत्यधिक मदिरा सेवन गरेर लापरबाहीपूर्वक सवारीसाधान चलाउँदा गम्भीर दुर्घटनाको जोखिम बढ्ने भन्दै उनले त्यसतर्फ सचेत रहन आग्रह गरे। त्यस्तै, चाडपर्वको बहानामा अपरिपक्व उमेरमै जोडी छान्ने तथा अन्य जोखिमपूर्ण व्यवहारहरूलाई निरुत्साहित गर्न किशोरकिशोरी शिक्षा र सचेतनामा जोड दिनुपर्ने उनको भनाइ छ।

दसैँमा मासु तथा अन्य भारी परिकारहरू आवश्यकताभन्दा बढी खाने बानीले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकाले खानपानमा पनि विशेष संयम अपनाउनुपर्ने उनले बताए।

उनका अनुसार दसैँ केवल टीका, जमरा र मासु-भोजभतेरमा मात्र सीमित हुनुहुँदैन। पुर्खाबाट हस्तान्तरण हुँदै आएका मौलिक परम्परा, गीत, नाच र जीवनदर्शनको जगेर्ना गर्दै जिम्मेवार नागरिकका रूपमा चाडपर्व मनाउन सके मात्र दसैँको वास्तविक सांस्कृतिक महत्त्व अझ बढेर जानेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *