चर्चामा एनपीएलको तेस्रो संस्करण: दर्शकको उत्साहसँगै प्रायोजन पारदर्शिताको प्रश्न
काठमाडौं। नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ, क्रिकेटप्रेमी दर्शकहरूमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढ्दै गइरहेको छ।
प्रतियोगिताको तिथि नजिकिएसँगै आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले पनि आफ्नो तयारीलाई तीव्र बनाएको छ। क्यानको आयोजनामा यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यस प्रतियोगिताको औपचारिक सुरुआत हुँदैछ। आयोजकहरूका अनुसार यस पटकको आयोजना विगतका संस्करणहरूको तुलनामा थप भव्य, व्यवस्थित र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नका लागि कीर्तिपुर मैदानमा मुख्य पिचको स्तरोन्नति, दर्शक प्याराफिट थप गर्ने, भीआईपी बक्स निर्माणका साथै मैदान वरपर आवश्यक मर्मत सम्भार र पूर्वाधार निर्माणका कामहरू द्रुत गतिमा भइरहेका छन्।
एनपीएललाई सभ्य, भव्य र पूर्ण रूपमा व्यवस्थित बनाउन सम्पूर्ण तयारी भइरहेको क्यानका उपाध्यक्ष रोशनकुमार सिंहले बताए। एनपीएलका विगतका संस्करणहरूमा देखिएका दर्शक व्यवस्थापन तथा प्राविधिक समस्याहरू यस पटक दोहोरिन नदिनका लागि आवश्यक सतर्कता र तयारी भइरहेको उनले जानकारी दिए।
आईसीसीको मान्यतापछि थप चर्चा र दायरा फराकिलो
दुई वटा संस्करण सफलताका साथ सम्पन्न भइसकेको एनपीएलको यो तेस्रो सिजनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले समेत औपचारिक मान्यता दिएको छ। आईसीसीको मान्यतासँगै यो आयोजना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट वृत्तमा अझ बढी चर्चामा आएको छ। आईसीसीले मान्यता प्रदान गरेसँगै अब एनपीएलमा विश्वका टेस्ट राष्ट्रका स्थापित खेलाडीहरूलाई अनुबन्ध गरेर ल्याउने बाटोसमेत खुला भएको छ।
क्यानका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले दिएको जानकारी अनुसार एनपीएलका प्रत्येक फ्रेन्चाइज टोलीले बढीमा आठ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्, जसमा कम्तीमा एक जना एसोसिएट राष्ट्रको हुनुपर्नेछ। यद्यपि, मैदानमा उत्रिने अन्तिम ११ (प्लेइङ–११) मा भने सात जना नेपाली खेलाडी र चार जना मात्र विदेशी खेलाडी राख्नुपर्ने स्पष्ट प्रावधान बनाइएको छ।
यसअघिका दुई संस्करणमा एउटा फ्रेन्चाइज टोलीले कम्तीमा चार र बढीमा ६ जनासम्म मात्र विदेशी खेलाडी टोलीमा राख्न सक्ने प्रावधान रहेको थियो। आईसीसीले मान्यता प्रदान गरेपछि क्यानले मुख्य रूपमा पाँच बुँदे कडा सर्तहरू पालना गर्नुपर्नेछ। जसअन्तर्गत प्रतियोगिता सकिएको ६० दिनभित्र सम्पूर्ण समीक्षा गरी त्यसको विस्तृत प्रतिवेदन आईसीसीलाई बुझाउनुपर्नेछ।
साथै, एन्टी करप्सन युनिट (एसीयू) को आचरण उल्लङ्घन गर्दै म्याच फिक्सिङ, स्पट फिक्सिङ वा अन्य अवाञ्छित गतिविधिमा दोषी पाइएमा नेपालको प्रचलित भ्रष्टाचारविरोधी कानुनका साथै आईसीसी अन्तर्गतको कडा अन्तर्राष्ट्रिय कानुनसमेत आकर्षित हुनेछ।
आईसीसीको सर्त अनुसार एनपीएलमा सहभागी हुने सम्पूर्ण विदेशी खेलाडीहरूले आ-आफ्नो सम्बन्धित क्रिकेट बोर्डबाट अनिवार्य रूपमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्नेछ।
क्यानका अनुसार एनपीएलको आधिकारिक टी-२० मान्यता (स्ट्याटस) को विषयमा आईसीसीसँग औपचारिक पत्राचार भइसकेको भए पनि प्राविधिक स्पष्टता केही दिनभित्रै प्राप्त हुनेछ।
यसैगरी, यस पटकको प्रतियोगिता खेलका दौरान प्रयोग हुने डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधिका कारण पनि थप चर्चामा रहने सम्भावना छ। क्यानका अधिकारीहरूका अनुसार एनपीएलमा पहिलो पटक उच्च प्रविधियुक्त डीआरएस भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीका अध्यक्ष जय शाहले एनपीएललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन ठूलो र सकारात्मक भूमिका निर्वाह गरेको जानकारी दिँदै उनीप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
अध्यक्ष चन्दले आईसीसी अध्यक्ष शाहसहितको उच्चस्तरीय टोली एनपीएलको प्रत्यक्ष अवलोकनका लागि नेपाल आउन सक्ने बलियो सम्भावना रहेको बताए। आईसीसी एसिया कन्फ्रेन्स आगामी मंसिर १ देखि ३ गतेसम्म नेपालमा आयोजना हुन गइरहेको र सोही क्रममा आईसीसीको टोलीले एनपीएलका खेलहरू मैदानमै पुगेर अवलोकन गर्ने सम्भावना रहेको अध्यक्ष चन्दले स्पष्ट पारे।
प्रायोजन सम्झौता र पारदर्शिताको बहस
कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएल क्रिकेटमा कुल आठ वटा फ्रेन्चाइज टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेल साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक ढङ्गले सुरु हुनेछ। यही क्रममा पछिल्लो समयमा व्यापारिक प्रायोजनका सन्दर्भहरूसँगै प्रायोजक कम्पनीहरू पनि निकै चर्चामा आउन थालेका छन्।
योसँगै खेलकुदमा हुने विज्ञापन र प्रायोजनको पारदर्शिताको विषयलाई लिएर बहस पनि सुरु भएको छ। विज्ञापन बोर्डका निवर्तमान अध्यक्ष लक्ष्मण हुमागाईँले व्यावसायिक र प्रवर्द्धनात्मक उद्देश्यले खेलकुदमा प्रायोजन हुनु आफैँमा गलत नभएको बताए।
उनका अनुसार खेलकुदमा व्यापारिक घरानावृत्त जोडिनु निकै राम्रो पक्ष हो, अझ एनपीएल जस्तो राष्ट्रिय खेलपर्वका सन्दर्भमा ठूला प्रायोजकहरू अगाडि आउनु निकै सकारात्मक र स्वागतयोग्य कदम हो। उनी भन्छन्, ‘तर प्रायोजनको सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा पारदर्शी हुनुपर्छ। अँध्यारो कोठामा बसेर अपारदर्शी ढङ्गले यस्ता ठूला वित्तीय सम्झौताहरू गरिनु हुँदैन।’
यसैबीच, नेपाल क्रिकेट सङ्घले नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजनका लागि सरकारी स्वामित्वको नेपाल टेलिकमसँग महत्त्वपूर्ण सम्झौता गरेको छ। एक विशेष कार्यक्रमका बीच कात्तिक १ गते नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारी र क्यानका जनरल म्यानेजर उत्सव ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापश्चात् टेलिकमका प्रमुख प्राविधिक अधिकृत अधिकारीले देशको प्रमुख दूरसञ्चार सेवा प्रदायकका रूपमा एनपीएल जस्तो ठूलो मञ्चमा विशेष सहभागिता जनाउन पाउनु कम्पनीका लागि महत्त्वपूर्ण अवसर भएको बताए। उनले नेपालमा द्रुत गतिमा लोकप्रिय हुँदै गएको क्रिकेटको संस्थागत विकास गर्न र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन यसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले एनपीएलमा टेलिकमको सहभागिताको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवर्द्धन गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सँग जोडेर हेरिएको प्रस्ट पारे। टेलिकमले यसअघि पनि विभिन्न चरणमा नेपाल क्रिकेट सङ्घ (क्यान) तथा सङ्घले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा प्रायोजन गर्दै आएको थियो।
क्यानका जनरल म्यानेजर ढकालले नेपाल टेलिकमसँग पुनः सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यो सहकार्यले समग्र नेपाली क्रिकेटको विकास र बिस्तारमा थप मजबुत मद्दत पुग्ने विश्वास व्यक्त गरे।
दर्शकमा बढ्दो ‘क्रेज’
एनपीएल तेस्रो सिजनसम्म आइपुग्दा नेपाली खेलप्रेमी दर्शकहरूमा यो खेल महोत्सवप्रतिको ‘क्रेज’ र उत्साह निकै माथि पुगेको छ। विशेष गरी युवा वर्गमा एनपीएलप्रति देखिएको आकर्षण अभूतपूर्व छ। नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ता एनपीएलका खेलहरू प्रत्यक्ष हेर्न जनकपुरबाट काठमाडौँ आउने तयारीमा छन्।
उनी अघिल्लो पटक पनि जनकपुर बोल्ट्सको खेल हेर्न विशेष रूपमा काठमाडौँ आएको सम्झन्छन्। पुरन जस्तै देशका विभिन्न जिल्ला र सहरबाट हजारौँ खेल प्रशंसकहरू छन्, जो यही एनपीएलको माहोलमा रमाउन काठमाडौँ आउने योजना बनाइरहेका छन्। यति मात्र होइन, वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीहरू पनि यो ठूलो खेल आयोजना हेर्न स्वदेश फर्कन चाहिरहेका छन्।
साउदी अरबमा कार्यरत कुमार कार्कीका अनुसार उता रहेका थुप्रै नेपाली श्रमिकहरू एनपीएल हेर्नकै लागि नेपाल आउन इच्छुक छन्। उनी भन्छन्, ‘तर रोजगारी नै छाडेर तत्कालै नेपाल जान कत्तिको सम्भव हुन्छ, हेरौँ।’
त्यस्तै, अघिल्लो पटक अन्तिम समयमा टिकट उपलब्ध हुन नसक्दा मैदानमै पुगेर खेल हेर्न नपाएका सप्तरीका दीपककुमार झा यस पटक भने खेलतालिका सार्वजनिक हुने बित्तिकै पहिले नै टिकटको जोहो गर्ने सोचाइमा रहेको बताउँछन्।
क्यानका अधिकारीहरू पनि विगतको तुलनामा यस पटक मैदानमा दर्शकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने अनुमान गर्छन्। उनीहरूका अनुसार यही बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै प्याराफिटमा थप सिटहरू राखेर दर्शकको क्षमता बढाउने प्रयास त गरिएको छ, तर दर्शकको उत्साह र चापका अगाडि त्यो मात्र पनि पर्याप्त नहुन सक्छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment