नेपाल टेलिकमको ४,९९९ रुपैयाँको एनटी फाइबर प्याकेज अब अनलाइनबाटै अनुरोध गर्न सकिने
काठमाडौं। नेपाल टेलिकमले एनटी फाइबरअन्तर्गत उपलब्ध गराएको ४ हजार ९९९ रुपैयाँको इन्टरनेट प्याकेजका लागि अब घरमै बसेर अनलाइनबाटै अनुरोध गर्न सकिने व्यवस्था गरेको छ। कम्पनीले ३० एमबीपीएस गतिको उक्त प्याकेजसहित नयाँ लाइन जडान गर्न चाहने ग्राहकका लागि अनलाइनबाटै सेवा अनुरोध गर्न सकिने सुविधा ल्याएको हो।
नेपाल टेलिकमका अनुसार नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले कम्पनीको अनलाइन गुनासो तथा सेवा अनुरोध प्रणाली (https://complain.ntc.net.np/) मा लगइन गरी आफ्नो नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरेर आवश्यक विवरण पेस गर्न सक्नेछन्।
यो प्रणालीमार्फत इन्टरनेट सेवा जडानको अनुरोधका साथै सेवासँग सम्बन्धित अन्य गुनासोहरूसमेत दर्ता गर्न सकिने कम्पनीले जनाएको छ। यसले गर्दा नयाँ लाइन जोड्न चाहने ग्राहकका लागि प्रक्रिया थप सहज र द्रुत हुने अपेक्षा गरिएको छ।
यसका साथै, ग्राहकले १९८ नम्बरमा फोन गरेर आफू बसेको क्षेत्रमा सेवा उपलब्ध छ वा छैन भन्ने जानकारी लिन सक्नेछन्। पछिल्लो समय विशेष अफरप्रति आकर्षण बढेसँगै १९८ नम्बरमा ग्राहकको चाप बढेको हुँदा अनलाइन प्रणालीले ग्राहकको निर्भरता र पर्खनुपर्ने झन्झटलाई कम गर्ने टेलिकमको विश्वास छ।
नेपाल टेलिकमले ४,९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको आकर्षक प्याकेजका अलावा ग्राहकको आवश्यकता र प्रयोग अनुसारका अन्य विभिन्न प्याकेजहरूसमेत उपलब्ध गराउँदै आएको छ। कम शुल्कमा उच्च गतिको गुणस्तरीय इन्टरनेट खोज्ने ग्राहकका लागि एनटी फाइबरका प्याकेजहरू निकै लोकप्रिय बनिरहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment