काठमाडौंमा बिक्रीमा जमरा: घटस्थापनामा जमरा राख्न नसक्नेहरूका लागि बन्यो सहज

डिसी नेपाल
४ कार्तिक २०८३ १२:३९
24
Shares

काठमाडौं। बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज देशभर मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने क्रम जारी छ। दसैँमा शुभसाइतको प्रतीक रातो टीकासँगै समृद्धिको प्रतीक मानिने जमरा लगाउने विशेष परम्परा रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १० बजेर २६ मिनेटको समय टीकाको उत्तम साइत तोकेको भए पनि सर्वसाधारणले बिहानै दुर्गा विसर्जन गरी टीका-जमरा लगाउन सुरु गरेका थिए।

टीकाकै दिन बिहान काठमाडौँका विभिन्न स्थानमा जमरा बिक्रीका लागि राखिएको दृश्य देखियो। विशेष गरी स्वयम्भूस्थित भगवान् पाऊ क्षेत्रमा केही व्यक्तिहरूले घरमै उमारेको जमरा बिक्रीका लागि राखेका थिए। सामान्यतया जमरा पनि बिक्री हुन्छ र भन्ने लागे पनि मानिसहरूले झुप्पैपिच्छे जमरा किनिरहेका थिए।

वैदिक परम्पराअनुसार जमरालाई समृद्धिको प्रतीक मानिने भएकाले घटस्थापनाका दिन देवीको आह्वान गरी पूजा कोठा वा घाम नपर्ने चोखो ठाउँमा जौ, गहुँ वा मकैको जमरा राख्ने गरिन्छ। तर, विविध कारणले घटस्थापनामा जमरा राख्न नपाएका वा डेरामा बस्ने ठाउँको अभाव भएका मानिसहरूका लागि यसरी बिक्रीमा राखिएको जमरा निकै उपयोगी साबित भएको छ।

भगवान् पाऊमा जमरा किन्न पुगेका स्थानीय रूपेश आचार्यका अनुसार घरमा सुतक परेका कारण घटस्थापनाका दिन जमरा राख्न नपाएपछि उनी जमरा खरिद गर्न पुगेका हुन्। “यसरी जमरा पनि बिक्रीमा राखिन्छ भन्ने मलाई थाहा थिएन, तर छिमेकीले किनेर लगेको थाहा पाएपछि म पनि आएको हुँ,” उनले भने। आफूलाई जस्तै समस्या परेका अन्य थुप्रै मानिसहरू बिहानैदेखि जमरा किन्न आइरहेको उनले बताए।

कतिपयलाई जमरा बिक्रीमा राखिएको देख्दा अनौठो लागे पनि जुठो, सुतक वा स्थान अभावका कारण समस्यामा परेका सर्वसाधारणका लागि भने यो व्यवस्था निकै सहज र व्यावहारिक बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *