लघुकथा : पराभव
“दशैं किन मनाइन्छ?”
दशैं आयो, अनुहारमा हर्ष प्रस्टै झल्किएको थियो। मन पुलकित देखिन्थ्यो। वर्षभरिमा एक पटक आउने चाड, खुसी नहुनु पनि कसरी? चाडपर्वले गाउँघरको रौनक नै अर्कै बनाएको थियो। विदेशमा भएका आफन्तजन घर सम्झेर फर्किएका थिए। काग कराउँदा पनि के शुभ समाचार ल्यायो होला भनेर सोध्नुपर्ने!
उकाली-ओराली गर्दा रेडियोमा बजेको दुर्गा स्तुति, आरती र संगीतमय धुन- आहा! सम्झँदा पनि कति आनन्द लाग्ने! लिङ्गे पिङ र रोटे पिङमा मान्छेहरू मच्चिएको देख्दा बल्ल दसैँ भित्रिएछ जस्तो लाग्ने। सबैले घर रातो माटो र कमेरोले सिँगारेको दृश्य झन् अनौठो र लोभलाग्दो देखिन्थ्यो। एक वृद्धले विगत सम्झँदै मनैदेखि भने।
बिहानीको समयमा शारीरिक व्यायाम गर्न निस्किएका दुई वृद्ध चौतारीमा बसेर एकछिन थकाइ मार्दै थिए। त्यसै बेला तीमध्ये एक जनालाई दुर्गा स्तुति कण्ठै रहेछ। उनले लय मिलाएर सररर भनिहाले:
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके।
शरण्ये त्र्यम्बके गौरी नारायणी नमोऽस्तु ते।।
अर्का वृद्धले बडो ध्यान दिएर स्तुति सुनेका थिए। “देवताहरूका पालामा पनि कस्ता दुराचारी हुने रहेछन्, हगि!” उनले आश्चर्य मान्दै प्रश्न गरे।
“हो त नि! महिषासुरले कुनै पनि पुरुषले मार्न नसक्ने अजय हुने वरदान पाएको थियो। उसले शक्ति र पद पाएपछि आफूलाई नै सर्वेसर्वा ठान्यो। देवताहरूलाई पराजित गरी स्वर्गमा अधिकार जमायो। चारैतिर हाहाकार र कोलाहल मच्चियो,” पहिला वृद्धले अर्थ्याए।
“कस्तो अचम्म, देवताहरूले त त्यति सास्ती खेप्नुपरेको रहेछ, हामी त सामान्य मान्छे!” अर्काले प्रतिप्रश्न गरे।
पहिला वृद्धले दशैंको महिमा थप स्पष्ट पार्दै भने, “असत्यमाथि सत्यको विजय भएको दिन हो यो। देवी दुर्गाले दुष्ट प्रवृत्तिको असुर राजा महिषासुरको संहार गरी धर्मको रक्षा गर्नुभएको थियो। यसरी अहंकार र दुराचारको पराभव भयो।”
तब्ब अर्का वृद्धले सुस्केरा हाल्दै व्यङ्ग्य कसे, “अनौठो छ बा! वरदान नपाउन्जेल संस्कारी देखिने, पाएपछि अहङ्कारी बन्ने! मनभित्र लुकेको कालो अहङ्कार त पद र शक्ति पाएपछि मात्र देखिने रहेछ। महिषासुर पनि कस्तो योजनाकार हगि?” यति भन्दै उनले वरपर पुलुक्क नजर दौडाए।
No ads found for this position




Facebook Comment