कविता

देवी-देवताको मन्दिर

शंकरप्रसाद रिजाल
७ कार्तिक २०८३ ७:५५
12
Shares

मानिसको सृष्टि हुँदा धर्म कहाँ थियो र!

देवता भन्ने ज्ञान मानिसमा कहाँ थियो र!

देवमूर्ति निर्माण गर्ने कलाकार को थियो र!

प्रकृति नै पूजा गर्ने त्यो बेलाको प्रथा थियो।

अभावमा मानिसले सूर्य पूजा गर्न थाले,

शीतलताका लागि चन्द्र पूजा सुरु गरे,

भोजनका लागि अन्नको पूजा सुरु भयो,

पिउने पानीका लागि नदी पूजा अघि बढ्यो।

भोजन पकाउनका लागि वृक्ष पूजा हुने भयो,

शरीर ढाक्नका लागि पात पूजा पनि भयो,

बिस्तारै सबै खान, बस्न र लाउनका लागि,

आफ्नालाई मान-मर्दनले भाषा चिनाउने भयो।

बिस्तारै ईश्वरको भाव मानिसमा आउँदै गयो,

कलाकारले संसारमा अनेक मूर्ति कुँद्दै गयो,

धर्मले ईश्वरलाई मान्दै र पुज्दै गयो,

सबै धर्मले आ-आफ्नो मजहब बनाउँदै गयो।

जात अनुसारको, रङ अनुसारको भगवान् बन्यो,

क्रिश्चियनले येसु, इस्लामले पैगम्बर बनाए,

सिखले गुरु नानक र हिन्दुले देव-देवी बनाए,

बनाए, सबै जातले एक-एक गरी देउता बनाए।

सबैले आ-आफ्ना देव-देवता र देवी बनाए,

आफ्नो धर्म-संस्कृति अनुसार मन्दिर बनाए,

अर्काको धर्म-देवतालाई मान्न वर्जित गराए,

तर कसैले सबैलाई हुने देउता बनाएन्।

सबैले आफ-आफैँ स्वर्ग जाने भर्‍याङ बनाए,

स्वर्गमा घुइँचो लाग्ने मन्दिर र मक्का बनाए,

चर्च बनाए, भेटिकन बनाए, मन्दिर बनाए,

बनाए सयौँ देउता, मान्छे ठुलो बनिकन।

तर परमात्मा एकै हो भन्ने कसैले जानेनन्,

मानिसले पढेका छैनन्, पढेर पनि कसैले बुझेनन्,

बुझेर पनि कसैले विधानलाई पल्टाएनन्,

तर परमेश्वर खुसी भई कहिल्यै रिसाएनन्।

परमात्मा एक विराट् रूपको भावबिम्ब हुन्,

सारा ब्रह्माण्ड सृष्टि, स्थिति र संहारकर्ता हुन्,

उनै हुन् एक त्यो शक्ति, जसले संसार चल्दछ,

मानिसले यो कुरा कहिले बुझ्ने, त्यो दृष्टि कहाँ छ!

मानिसले यो कुरा कहिले बुझ्ने, त्यो दृष्टि कहाँ छ!

धर्म-धर्म भनी हिँड्ने जान्छन् आफ्नो मन्दिरमा,

पूजा, अर्चना, आराधना गर्छन् आफ्नो भाव-विवेकमा,

तर को छ त्यस्तो मानिस जो सुखी भई बस्तछ?

ठगी, रिस, दुष्ट्याइँ र फटाहापन उसैभित्र घुस्तछ।

धार्मिकता कतै छैन, जो विवेकी भई बस्तछ,

नभए संसारमा अशान्ति घरी-घरी किन आउँछ?

सबै नक्कल गरी हिँड्ने, धर्ममा सब लाग्ने,

आफ्नो इच्छा पूरा गर्न ईश्वरसँग भिक्षा माग्ने।

भक्तिभाव कुनै छैन समर्पण र सद्भावको,

परमात्मासँग मिलिबस्ने कसैको छैन स्वभाव त्यो,

अहम् र घमण्ड- दुइटाले ढाकेको छ सब संसार यो,

“परमात्मा यो हो” भन्ने कुनै मानिस को छ त्यो?

“परमात्मा यो हो” भन्ने कुनै मानिस को छ त्यो?

चिनून् मानिसले परमात्मा ज्ञान, बुद्धि र विवेकले,

भित्र शुद्ध चिन्तनले मुसुक्क हाँस्छन् ईश्वरले,

“ईश्वर छैन” भनी हिँड्नेले अन्त्यमा ‘राम’ भन्दछन्,

“ईश्वर छ” भनी हिँड्नेले अन्त्यमा हाँसी मर्दछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *