सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार
सुनसरी। धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ।
घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन्। टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचारप्रसार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन्।
धरानको मुख्य चोक भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन्। यहाँ बिहानदेखि बेलुकासम्म सुकुटी किन्ने ग्राहकको चहलपहल हुन्छ। गल्लीमा पसल सञ्चालन गरेर बिक्री गर्ने मात्र नभई घरमै सुकुटी र अचार बनाएर सामाजिक सञ्जालमार्फत अर्डर लिने महिलाको सङ्ख्या पनि बढ्दै गएको छ।
धरान उपमहानगरपालिका–१५ की निता तामाङले सुकुटी बिक्री गर्न थाल्नु भएको ६ वर्ष भयो। उनले निकेतन गल्लीमा बिहानदेखि बेलुकासम्म सुकुटीसँगै त्यसबाट बनाइएको अचार बिक्री गर्दै आएकी छन्।
उनले तयार पारेको सुकुटी र अचारको माग नेपालमा मात्र नभई विदेशमा समेत रहेको बताइन्। विशेषगरी बेलायत,अमेरिका र हङकङलगायतका देशबाट सुकुटी तथा अचारको अर्डर आउने गरेको उनको भनाइ छ।
सामाजिक सञ्जाल अहिले व्यापारका लागि प्रभावकारी माध्यम बनेको छ। “दिनभर गल्लीमा बसेर ग्राहक पर्खनुभन्दा टिकटक र फेसबुकमार्फत उत्पादनको प्रचार गर्न सके धेरै ग्राहकसम्म पुग्न सकिन्छ। सामाजिक सञ्जालमा सुकुटी र अचार देखेर अनलाइनमार्फत अर्डर गर्ने ग्राहक धेरै छन्”, तामाङले भनिन्।
तामाङले एक पटकमा १२० केजीसम्म राँगाको मासु किनेर घरमै सुकुटी बनाउने गरेको जानकारी दिइन्। घाम लागेका बेला सुकुटी सुकाउन सहज हुने उनको अनुभव छ। अहिले राम्रो घाम लाग्ने भएकाले तीन दिनमै सुकुटी सुक्ने गरेको उनले बताए।
जाडोयाममा सुकाउन एक हप्तासम्म लाग्ने र घाम नलाग्दा आगोमा समेत सुकाउनुपर्ने हुँदा बढी समय लाग्ने उनको भनाइ छ। सुकुटीको व्यापारबाट मासिक रु ८० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको तामाङले बताए।
धरान–१५ कै बिनिता गिरीले पनि ९ वर्षदेखि सुकुटी र त्यसबाट बनाइएको अचार बिक्री गर्दै आएका छन्। उनका अनुसार बजारमा गुणस्तरअनुसार सुकुटी प्रतिकिलो रु एक हजार ६०० देखि रु तीन हजारसम्ममा बिक्री हुने गरेको छ। त्यस्तै, सुकुटीको अचार प्रतिकिलो रु एक हजार ६ सयदेखि दुई हजारसम्ममा बिक्री हुने गरेको उनले बताए।
गिरीले तयार पारेको सुकुटी धरान, इटहरी, झापा तथा काठमाडौँसम्म पुग्ने गरेको छ। हङकङ र बेलायतलगायतका देशमा समेत सुकुटी पठाउने गरिएको उहाँले जानकारी दिनुभयो। सामाजिक सञ्जाल टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता माध्यमको प्रयोग बढेसँगै अनलाइनबाट व्यापार गर्न सहज भएको उनको अनुभव छ।
घाम लाग्दा सुकुटी सुकाउन सहज हुने भए पनि घाम नलाग्दा दाउरा किनेर सुकाउनुपर्ने बाध्यता रहेको गिरीले बताए। यसले उत्पादन लागत बढाउने र व्यापारबाट हुने आम्दानीमा असर पार्ने उनको भनाइ छ।
निकेतन गल्लीमा सुकुटी बिक्री गर्दै आउनुभएकी दिलकुमारी तामाङले बिहानदेखि बेलुका ६ बजेसम्म व्यापार गर्दा राम्रै आम्दानी हुने गरेको बताए। अलिकति मेहनत गर्ने हो भने सुकुटीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ। उनले भने, “सुकुटीको व्यापारबाटै घरव्यवहार चलाउँदै आएको छु सुकुटी तयार पार्न धेरै समय र मेहनत लाग्छ।”
धरानमा सुकुटीको व्यापार गर्ने अधिकांश महिला छन्। उनीहरूले राँगाको मासु किनेर घरमै सुकुटी तयार पार्ने र बजारमा बिक्री गर्ने गरेका छन्। कतिपयले सुकुटीसँगै अचार बनाएर बिक्री गर्छन्। भानुचोक र निकेतन गल्लीमा पसल सञ्चालन गरेर बिक्री गर्ने महिलासँगै घरबाटै अर्डरअनुसार सुकुटी तथा अचार बिक्री गर्नेहरू पनि छन्।
सुकुटी र अचारको व्यापारले महिलालाई स्वरोजगार बन्न, घरखर्च चलाउन र व्यवसाय विस्तार गर्न ठुलो सहयोग पुगेको छ। एउटै उत्पादनबाट विभिन्न परिकार तयार पारेर बिक्री गर्न सकिने तथा सामाजिक सञ्जालमार्फत टाढाका ग्राहकसम्म पुग्न सकिने भएकाले यस व्यवसायप्रति महिलाको आकर्षण बढ्दै गएको व्यापारी बताउँछन्।
No ads found for this position




Facebook Comment