इंग्ल्यान्डविरुद्ध श्रीलंकाको ऐतिहासिक जित
काठमाडौं। श्रीलंकाले एकदिवसीय क्रिकेटमा ४३० रनको लक्ष्य पूरा गर्दै इंग्ल्यान्डलाई पराजित गरेको छ।
पाकिस्तानको रावलपिण्डीमा भएको त्रिदेशीय शृङ्खलाको खेलमा श्रीलंकाले ४९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। यो एकदिवसीय क्रिकेट इतिहासकै दोस्रो ठूलो सफल लक्ष्य पछ्याउने कीर्तिमान हो।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले कप्तान ह्यारी ब्रुकको कीर्तिमानी दोहोरो शतकको मद्दतमा ५० ओभरमा ४ विकेट गुमाएर ४२९ रन बनाएको थियो। ब्रुकले ११६ बलमा २०२ रन बनाए भने विल ज्याक्सले ३० बलमा अविजित ६६ रन जोडेका थिए।
४३० रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले सुरुमै दुई विकेट गुमाए पनि पवन रत्नायकेले १०६ बलमा १३० रन बनाउँदै टोलीलाई सम्हालेका थिए। अविष्का फर्नान्डोले ९७ रन बनाए भने दासुन शनाकाले ५० बलमा ९७ रनको आक्रामक पारी खेलेका थिए।
अन्तिम ओभरमा श्रीलंकालाई ६ बलमा ७ रन आवश्यक थियो। जनिथ लियानागेले २७ बलमा अविजित ६१ रन बनाउँदै अन्तिम ओभरको पाँचौँ बलमा छक्का प्रहार गरेर टोलीलाई ऐतिहासिक जित दिलाए।
इंग्ल्यान्डका जोस टङले तीन विकेट लिए भने साम करनले दुई विकेट हात पारे। त्रिदेशीय शृङ्खलामा आयोजक पाकिस्तानसहित इंग्ल्यान्ड र श्रीलंका सहभागी छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment