जोर्डनमा चर्चभित्र अन्त्येष्टिका क्रममा अन्धाधुन्ध गोलीप्रहार, ७ जनाको मृत्यु र ३४ घाइते

डिसी नेपाल
७ कार्तिक २०८३ ८:३३
8
Shares

काठमाडौं । जोर्डनको कराक सहरमा शुक्रबार एक चर्चभित्र एक आक्रमणकारीले अन्धाधुन्ध गोलीप्रहार गरेका छन्। यस आक्रमणमा परी ७ जनाको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते भएका छन्। गोलीबारी कसले गर्‍यो र यसको पछाडि के कारण थियो भन्नेबारे हालसम्म स्पष्ट हुन सकेको छैन।

एसोसिएटेड प्रेस को रिपोर्टअनुसार, गोलीप्रहारको घटना राजधानी अम्मानबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको कराक सहरको एक ‘ग्रीक अर्थोडक्स चर्च’ मा भएको हो। जोर्डन सरकारका प्रवक्ता मोहम्मद अल-मोमानीले मृतक र घाइतेहरूको सङ्ख्याबारे जानकारी दिएका हुन्। सुरक्षा एजेन्सीहरूले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेका छन्।

कराकमा इसाई अल्पसङ्ख्यक समुदायको पनि बसोबास रहेको छ। यद्यपि, आक्रमणमा मारिएका र घाइते भएका मानिसहरू कुन समुदायका हुन् वा आक्रमणकारीहरूको मुख्य निसाना को थिए भन्नेबारे अधिकारीहरूका तर्फबाट हालसम्म केही खुलाइएको छैन।

रिपोर्टअनुसार गोलीप्रहारको यो घटना एक व्यक्तिको अन्त्येष्टि चलिरहेका बेला भएको हो। सरकारी टेलिभिजन च्यानल ‘अल-ममलका’ को रिपोर्टअनुसार, सुरक्षा बलहरूलाई चर्च वरपर व्यापक रूपमा तैनाथ गरिएको छ र उनीहरूले सन्दिग्धहरूको खोजी तीव्र पारेका छन्।

च्यानलका अनुसार कराकको हमौद चर्चमा अन्त्येष्टि जुलुसका क्रममा केही बन्दुकधारीहरू एक गाडीबाट ओर्लिएर अन्धाधुन्ध गोली चलाउन थालेका थिए। ‘अल-ममलका’ ले यस आक्रमणमा सात जनाको ज्यान गएको पुष्टि गरेको छ।

अल-ममलकामा देखाइएको एक सुरक्षा क्यामेराको भिडियोमा तीन जना व्यक्तिहरू पैदल मार्ग बाट चर्चमाथि गोलीहानिरहेको देखिएका छन्। आक्रमणकारीहरू रुख र एक सानो पर्खालको पछाडि लुकेका थिए र त्यसपछि चर्चको मुख्य प्रवेशद्वारतर्फ दौडिएका थिए।

अन्त्येष्टिमा सहभागी खालिद बुरकानले अल-ममलकालाई बताएअनुसार त्यहाँ दर्ताैं मानिसहरू उपस्थित थिए। त्यही बेला कम्तीमा दुई जना, जसमध्ये एकजनासँग राइफल र अर्कोसँग पेस्तोल थियो, उनीहरूमाथि कैयौँ मिनेटसम्म लगातार गोलीप्रहार गरेका थिए।

कराकमा इसाई समुदायको जनसङ्ख्या रहेको छ, तर उनीहरू अल्पसङ्ख्यकका रूपमा रहेका छन्।

जोर्डनका राजा अब्दुल्लाले आक्रमणको पछाडि संलग्न व्यक्तिहरूलाई ‘कडाभन्दा कडा’ सजाय दिइने बताएका छन्।

उनले एक वक्तव्य जारी गर्दै भनेका छन्, “कराकमा भएको आतङ्ककारी आक्रमणको अत्यन्त कडा जवाफ दिइनेछ। आफ्ना गोलीहरूले जोर्डनका जनतालाई विभाजित गर्न सकिन्छ भन्ने गलतफहमी पालेका मानिसहरू हाम्रो एकतासामु टिक्न सक्ने छैनन्।” आक्रमणपछि बाहिर आएका चर्चका फुटेजहरूमा प्रवेशद्वार नजिकै भुइँमा रगतका दागहरू देखिएका छन्, जहाँ सुरक्षा बलहरूलाई तैनाथ गरिएको थियो।

जोर्डनमा यस्ता किसिमका आक्रमणहरू अति कम हुने गर्छन्, किनकि यो देश ठूलो हदसम्म शान्त र स्थिर मानिन्छ। यद्यपि, जोर्डनका अधिकारीहरूले पछिल्ला वर्षहरूमा इस्लामी कट्टरपन्थीहरूद्वारा गरिएका कैयौँ आक्रमणका प्रयासहरूलाई विफल पारेको बताउँदै आएका छन्।

जोर्डनको कुल जनसङ्ख्यामा इसाईहरूको सङ्ख्या कम छ। यस देशमा बाइबलसँग जोडिएका धेरै ऐतिहासिक स्थलहरू छन्, जसले विश्वभरका इसाई तीर्थयात्रीहरूलाई आकर्षित गर्ने गर्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *