भारतको ‘मोस्ट वान्टेड’ ग्याङ्स्टर हिमांशु भाउ अमेरिकामा पक्राउ
काठमाडौं । भारतको ‘मोस्ट वान्टेड’ ग्याङ्स्टर हिमांशु भाउ अमेरिकामा पक्राउ परेका छन्। कुख्यात अन्तर्राष्ट्रिय ग्याङ्स्टर हिमांशु भाउलाई अमेरिकी गुप्तचर संस्था एफबीआईले अमेरिकामा नियन्त्रणमा लिएको हो। उनीविरुद्ध सन् २०२३ मा इन्टरपोलले ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो। हिमांशु भाउ भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी, दिल्ली प्रहरी र हरियाणा एसटीएफ को हिट लिस्टमा समेत रहेका थिए।
दिल्ली र हरियाणासहित भारतका धेरै राज्यहरूमा उनीविरुद्ध हत्या, हत्याको प्रयास, फिरौती असुली र हतियार तस्करीका मुद्दाहरू दर्ता छन्। हिमांशु भाउमाथि २० देखि ३० राउन्ड गोली हानेर विभत्स हत्या गराएका आरोपहरू छन्। सन् २०२२ मा २४ घण्टाभित्रै हरियाणामा तीन जनाको हत्या गराएपछि उनी निकै चर्चामा आएका थिए।
हिमांशुको पूरा नाम हिमांशु उर्फ भाउ रिटोलिया बताइएको छ। उनी हरियाणाको रोहतक जिल्लास्थित रिटोली गाउँका बासिन्दा हुन्। सन् २००२ मा जन्मिएका उनी १७ वर्षकै उमेरमा अपराधको दुनियाँमा प्रवेश गरेका थिए। सन् २०२० मा उनी हिसारस्थित बाल सुधार गृहबाट २० जना किशोरहरूसँगै फरार भएका थिए। हरियाणामा मात्रै उनीविरुद्ध २० देखि २४ वटाभन्दा बढी मुद्दाहरू दर्ता रहेको बताइएको छ। जसमा हत्या, हत्याको प्रयास, फिरौती र हतियार तस्करीका गम्भीर मामलाहरू समावेश छन्।
हिमांशु भाउले भारतका चर्चित युट्युबर एल्भिस यादवको घरमा पनि दर्जनाँै राउन्ड गोली चलाउन लगाएका थिए। यसबाहेक दिल्लीको बर्गर किङमा भएको हत्या, बेरीका अध्यक्षको हत्याको षड्यन्त्र र जिम ट्रेनर विजयको हत्याजस्ता घटनाहरूको जिम्मेवारी पनि उनैको समूहले लिएको दाबी गरिन्छ।
हिमांशु भाउलाई नीरज बवाना र बम्बिहा ग्याङको निकट मानिन्छ। अर्कातर्फ, लरेन्स बिसनोई र गोल्डी बरारको समूहसँग उनको कट्टर दुस्मनी रहेको छ। उनी विदेशमा बसेर आफ्नो आपराधिक सञ्जाल (ग्याङ) सञ्चालन गर्दै आएका थिए। सुरुमा उनी पोर्चुगल भागेका थिए र पछि अमेरिकामा बसेर दिल्ली-एनसीआर, हरियाणा र पञ्जाबमा भर्चुअल नम्बर तथा स्न्यापच्याटमार्फत फिरौती असुल्ने गरेको तथ्य बाहिर आएको छ।
उनीनिकट व्यक्तिहरूमा साहिल रिटोली, नसीब उर्फ डाकु कुलासिया, अमन भैंसवाल र नीरज फरिदपुरियाको नाम अगाडि आउँछ।
हिमांशु भाउविरुद्ध सन् २०२३ मा इन्टरपोलको रेड कर्नर नोटिस जारी भएको थियो। हरियाणा प्रहरीले उनीमाथि २ लाख ५० हजार भारतीय रुपैयाँ र दिल्ली प्रहरीले १ लाख रुपैयाँको पुरस्कार घोषणा गरेका थिए। एनआईए, हरियाणा एसटीएफ र दिल्ली प्रहरीको मुख्य निसानामा रहेका हिमांशु भाउलाई अब एफबीआईले अमेरिकामा पक्राउ गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment