ऊर्जा क्षेत्रको इतिहासमा नयाँ मोड: ट्रम्प र पुटिनबीचको सम्झौतापछि पहिलो पटक रुसी डिजेल अमेरिकातर्फ प्रस्थान

डिसी नेपाल
७ कार्तिक २०८३ ९:०१
8
Shares

काठमाडौं । ऊर्जा क्षेत्रको इतिहासमा शुक्रबार एक महत्त्वपूर्ण मोड आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको सम्झौतापछि पहिलो पटक रुसबाट डिजेल बोकेर एक ट्याङ्कर अमेरिकातर्फ प्रस्थान गरेको छ।

नयाँ आयात सम्झौता अन्तर्गत रुसी डिजेल लिएर पहिलो ट्याङ्कर अमेरिकाका लागि छुटेको क्रेमलिनले शुक्रबार जानकारी दिएको छ। युक्रेनमाथि रुसको आक्रमण जारी रहे पनि राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफूले एक सम्झौता गरेको भनी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिको दुई सातापछि यो घटनाक्रम बाहिर आएको हो।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “पहिलो तेल ट्याङ्कर ग्राहकका लागि रवाना भइसकेको छ र आगामी दिनहरूमा पनि नियमित आपूर्ति जारी रहनेछ।”

रुसी समाचार संस्था ‘इन्टरफ्याक्स’ का अनुसार रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोवाकले यसै साताको सुरुमा पहिलो खेपमा ४० हजार टन डिजेल हुने बताएका थिए।

सामुद्रिक फर्म ‘केप्लर’ का अनुसार, जहाजको सिङ्गलबाट यो न्युयोर्कतर्फ गइरहेको र आगामी नोभेम्बर ७ सम्ममा त्यहाँ पुग्ने देखिएको छ। सन् २०२३ जुलाईयता अमेरिका पुग्न लागेको यो नै पहिलो रुसी डिजेलको खेप हुनेछ।

अमेरिकाले रुसबाट कच्चा तेल खरिद गरिरहेका कारण भारत लगायतका अन्य देशहरूमाथि कर (ट्यारिफ) लगाइरहेको बेला यो घटनाक्रम अति नै महत्त्वपूर्ण मानिएको छ। यो डिजेलले अमेरिकी ऊर्जा बजारलाई राहत दिने विश्वास गरिएको छ, जहाँ बढेको इन्धनको मूल्य ट्रम्पका लागि चिन्ताको विषय बनेको छ।

यसअघि अमेरिकाले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसमाथि प्रतिबन्ध लगाएको थियो। तर अमेरिकामा मध्यावधि चुनाव हुनुअघि इन्धनको बढ्दो मूल्य नियन्त्रणमा लिनका लागि ट्रम्पले रुससँग यो सम्झौता गरेका हुन्।

४० हजार टन डिजेलको यस खेपमा करिब ३ लाख ब्यारेल डिजेल रहेको छ। यो मात्रा अमेरिकी अर्थतन्त्रमा एक दिनमा खपत हुने करिब ४० लाख ब्यारेल डिजेलको करिब ७ प्रतिशत हो।

आगामी महिनाहरूमा लाखौँ टन थप रुसी डिजेल अमेरिका पुग्ने ट्रम्पले बताए तापनि यस आयात सम्झौताबाट इन्धनको मूल्यमा कुनै खास कमी आउने सम्भावना नरहेको ऊर्जा नीति विज्ञहरूको ठहर छ।

युक्रेनद्वारा रुसका तेल रिफाइनरीहरूमाथि लगातार गरिएका लामो दूरीका ड्रोन आक्रमणका कारण रुसको डिजेल उत्पादनमा ठूलो दबाब परेको थियो। यी आक्रमणहरूले इन्धनको अभाव सिर्जना गरेको थियो, जुन अहिले केही हदसम्म कम भएको छ। गत महिना ट्रम्पले किभलाई यस्ता आक्रमणहरू रोक्न आग्रह गरेका थिए।

डिजेललाई लिएर अमेरिकाको यो निर्णयले युक्रेनमा चिन्ता र निराशा छाएको छ। रुसको आम्दानी घटोस् र उसले युद्ध रोक्न बाध्य होस् भन्नका लागि युक्रेनले अन्य देशहरूसँग रुस विरुद्धका प्रतिबन्धहरू अझ कडा पार्न अपिल गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले ट्रम्पको यस निर्णयलाई “बलिया साझेदारहरूद्वारा गरिएको एउटा कमजोर निर्णय” भनेका छन्। यो डिजेल सम्झौता नीतिगत रूपमा अचानक आएको एक ठूलो फेरबदल थियो।

यो निर्णय ट्रम्पले एक व्यापक प्रतिबन्ध प्याकेजसम्बन्धी कानुनमा हस्ताक्षर गरेको केही साताभित्रै आएको हो, जसमा उनलाई रुसी तेल वा प्राकृतिक ग्यासका शीर्ष पाँच आयातकर्ताहरूमाथि १०० प्रतिशतसम्म शुल्क लगाउन निर्देशन दिइएको थियो। यद्यपि, उनले पछि यी उपायहरूलाई स्थगन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *