पूराना दल र नेताहरुले केही गरेनन् भन्ने भाष्य तोड्न जरुरी छ : माधव नेपाल

डिसी नेपाल
७ कार्तिक २०८३ १७:३५
8
Shares

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई स्वार्थीहरूको खेल र पुराना दलले देशमा केही गरेनन् भनी फैलाइएको गलत भाष्यलाई तथ्य र प्रमाणका आधारमा चिर्नुपर्ने बताएका छन्।

पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ उद्घाटन गर्दै शनिबार नेता नेपालले २०४७ साल यता वामपन्थी र कम्युनिस्ट नेतृत्वका सरकारहरूले देश र जनताका पक्षमा गरेका कामहरूको विस्तृत विवरणसहित जनतामाझ प्रकाशन गर्ने घोषणा समेत गरे।

पछिल्लो समय राजनीतिमा गलत कुराहरू धेरै प्रचारित भइरहेको र निजी स्वार्थ पूरा गर्ने माध्यमका रूपमा व्याख्या गरिएको उनले बताए। साथै, उनले शहीद र योद्धाहरूले व्यक्तिगत स्वार्थका लागि नभई देशको प्रतिष्ठा उठाउन, जनताका पीडा सम्बोधन गर्न र विभेदमुक्त सुन्दर समाज निर्माणका लागि जीवन समर्पण गरेको स्मरण गराए।

पुराना पार्टी र नेताहरूले देशमा केही पनि गरेनन् भनी निर्माण गरिएको भाष्यप्रति लक्षित गर्दै उनले मनोगत ढङ्गले आरोप लगाउनुको सट्टा तथ्य र प्रमाणमा बहस हुनुपर्नेमा जोड दिए।

काम गर्ने क्रममा भएका कमी–कमजोरीको दलहरूले समीक्षा गर्नुपर्ने तर राम्रो कामको जस नदिने र अपजस मात्रै थोपर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ थियो।

‘एउटा भाष्य के छ भने, यी पुराना पार्टीहरूले केही पनि गरेनन्, यी पुराना नेताहरूले केही पनि गरेनन्, देशमा केही पनि भएन। त्यो भाष्य कति सही हो, कति गलत हो—यो मनोगत ढङ्गले आरोप लगाएर हुँदैन, तथ्यगत रूपमा पुष्टि गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘विभिन्न समयमा सरकारमा हामीले पनि जिम्मेवारी सम्हालेका हौँ। हाम्रै पार्टीको तर्फबाट कमरेड प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुनुभयो, म आफैंले पनि त्यसपश्चात प्रधानमन्त्री भएर देश हाँक्ने जिम्मेवारी पाएँ। संघ, प्रदेश र पालिकासम्म हाम्रा नेता–कार्यकर्ताले जिम्मेवारी सम्हालेर गरेका कामहरूको विवरण हामी छिट्टै प्रकाशित गर्नेछौँ। ०४७ सालयता कम्युनिस्टहरूले के–के जिम्मेवारी पूरा गरे भन्ने प्रश्नको जवाफ सिधै देख्न सकिने गरी ल्याउँछौँ। आज गरिएका जोखिमपूर्ण र राम्रा कामहरूलाई ढाकछोप गर्ने, चर्चा र जस दिन नचाहने तर अपजस मात्रै अरूको थाप्लोमा पार्ने प्रवृत्ति व्याप्त छ।’

उनले राष्ट्रिय हित र देशको स्वाभिमानमाथि आँच पुर्याउने कुनै पनि कार्य पार्टीका लागि स्वीकार्य नहुने स्पष्ट पारे। राष्ट्रियताको मुद्दालाई सर्वोच्च प्राथमिकतामा राखेर जनतामा चेतना र जागरण फैलाउनकै लागि पार्टीले यो अभियान सुरु गरेको उनले जानकारी दिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *